अब उपत्यकाको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने



काठमाडौं : संघीय राजधानी काठमाडौंको सुरक्षाका लागि अब ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ ।

नेपाल प्रहरी र संघीय प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय)को पहिलो संशोधन अध्यादेश २०७७ प्रमाणीकरण भएसँगै यस्तो व्यवस्था हुने भएको हो ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी उक्त अध्यादेश प्रमाणीकरण गरेकी छिन् । केही दिनअघि मन्त्रिपरिषद बैठकले योसहित अन्य ३ अध्यादेश जारी गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो ।

गृह मन्त्रालयका अनुसार अब राजधानीको सुरक्षामा ‘संघीय राजधानी प्रहरी’ गठन हुने भएको छ । पहिले राजधानी बागमती प्रदेश मातहत थियो । अब राजधानीका ३ जिल्ला संघीय राजधानी प्रहरीमातहत रहने छ ।

संघीय राजधानी प्रहरी गठन हुने भएपछि हाल महानगरको अवधारणामा रहेको मेट्रो प्रहरी हट्ने भएको छ । मेट्रोमा हाल प्रहरी नायब महानिरीक्षक (डिआइजी) दरबन्दी छ । संघीय राजधानी प्रहरीअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुर रहने छन् । ती कार्यालय महानगरीय प्रहरी परिसरको रूपमा थिए ।

अब जिल्ला प्रहरी कार्यालय वा अन्य कुनै नाममा रहने छ । यो निर्णय भने अर्गनाइजेसन म्यानेजमेन्ट (ओएन्डएम)पछि मात्र हुनेछ । नेपाल प्रहरी र प्रदेश प्रहरीको ओएन्डएम अहिले मन्त्रिपरिषदमा विचाराधीन छ । ‘कुन निकायको प्रमुख कुन पदको हुने र काठमाडौंका परिसरहरू के हुने भन्ने ओएन्डएम पास भएपछि टुंगो लाग्छ,’ गृह मन्त्रालयको सुरक्षा तथा प्रशासन महाशाखाका सहसचिव थानेश्वर गौतमले भने ।

यसअघि काठमाडौं उपत्यका हेर्ने गरी मेट्रो प्रहरीको अवधारणा ल्याइएको थियो । प्रदेश प्रहरी गठन भएपछि प्रदेश मातहत गएको थियो । मेट्रो प्रहरी अस्तित्वमै रहँदा उसले राजधानीका तीन जिल्लाको सुरक्षाबारे अनुगमन तथा परिचालन गर्ने अधिकार राख्थ्यो ।

प्रकाशितः १२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्