लोकसेवामा विज्ञापन खुलाउन अन्योल



काठमाडौंः लोकसेवा आयोगमा विज्ञापन खुलाउने वा नखुलाउने विषयमा अन्योल रहेको छ ।

संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी र मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमबीच खटपट भएकोले अन्योल सिर्जना भएको हो ।

विज्ञापन खुलाउनु अघि संघीय मन्त्रालयले रिक्त पदहरुको विषयको विवरण आयोगमा पठाउनु पर्छ । मन्त्रालयले पठाएको विवरणको आधारमा आयोगले विज्ञापन खुलाउने गर्छ । तर यस वर्ष आयोगमा रिक्त पदहरुको विवरण मन्त्रालयमा पठाउने वा नपठाउने विषयमा संघीय मन्त्रालयले टुंगो लगाउन सकेको छैन ।

स्रोतका अनुसार संघीय मामिला सचिव गौतमले आयोगमा रिक्त पदहरुको विवरण पठाउन प्रस्ताव तयार गरेका छन् । तर उक्त प्रस्तावलाई मन्त्री त्रिपाठीले भने रोकि दिएका छन् । आयोगमा विवरण पठाउने वा नपठाउने विषयमा मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने त्रिपाठीको भनाइ छ ।

गौतम भने रिक्त पदहरुको विवरण आयोगमा पठाउन मन्त्रिपरिषदले निर्णय गर्न आवश्यक नपर्ने तर्क राखेका छन् । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई आयोगका सबै परिक्षा स्थगित गर्न आग्रह गर्ने निर्णय गरेको थियो । सरकारको आग्रह पछि आयोगले प्रक्रिया सुरु गरिएका परिक्षा समेत स्थगित गर्ने निर्णय गरेको थियो ।

आयोगमा रिक्त पदहरूको विवरण पठाउन वैशाख १४ गतेको निर्णय आकर्षित नहुने सचिवको भनाइ छ । ‘वैशाख १४ को निर्णय यसअघि सुरु गरिएका परिक्षा रोक्नकोलागि आग्रह गर्ने निर्णय हो तर आयोगमा रिक्त पदहरुको विवरण पठाउन उक्त निर्णयसँग सम्बन्धित छैन’ सचिव गौतमलाई उदृत गर्दै स्रोतले भन्यो ।

आयोगमा विवरण पठाउने प्रस्ताव हाल मन्त्री त्रिपाठीको टेबुलमा छ । त्रिपाठी भने मन्त्रिपरिषदबाट निर्णय नगराई आयोगमा प्रस्ताव नपठाउने अडानमा छन् । हरेक वर्ष आयोगले असोज महिनाको अन्तिम बुधबारबाट विज्ञापन खुलाउन सुरु गर्छ । यो क्रम चैतको अन्तिम बुधबारसम्म जारी रहन्छ ।
असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव, कात्तिकको अन्तिम बुधबार प्राविधिक तथा मंसिरको अन्तिम बुधबार शाखा अधिकृतको विज्ञापन खुलाउने गरिन्छ ।

तर यस वर्ष मन्त्रालयले अझै विवरण नपठाएकोले आयोगले विज्ञापन खुलाउने नखुलाउने विषयमा आयोग अलमलमा छ । आयोगकी प्रवक्ता गिताकुमारी हुमागाईंले अहिलेसम्म संघीय मन्त्रालयबाट रिक्त पदहरुको विवरण आयोगमा नआएको प्रष्ट पारिन् ।

मन्त्रालयले विवरण पठाएमा आयोगले विज्ञापन खुलाउने उनले बताएकी छिन् । मन्त्रालयका अनुसार मन्त्रालयले आयोगमा सहसचिव पदको लागि ८१ र उपसचिव पदको लागि १ सय ३७ पद रिक्त रहेको विवरण संकलन गरेको छ ।

तर उक्त विवरण मन्त्रालयले आयोगमा पठाएको छैन । मन्त्रालयले सामान्यता असोजको १५ देखि आयोगमा विवरण पठाउनु पर्छ । कहिलेकाही आयोगले विज्ञापन खुलाउनु दुई तीन दिनअघिसम्म पनि मन्त्रालयले विवरण पठाउने गर्दथ्यो । यसअघि हरेक वर्ष आयोगले ८ देखि १० हजार पदमा विज्ञापन आब्हान गर्ने गरेको थियो ।

तर यस वर्ष मुलुक संघीयतामा गएकोले आयोगले संघको लागि मात्र विज्ञापन खुलाउने गर्छ । त्यसैले यस वर्ष आयोगले विज्ञापन खुलायो भने करिब ४ हजार पदहरुमा मात्र आब्हान गर्ने अनुमान गरिएको छ । संघीय मन्त्रालयले आयोगमा विवरण नपठाए पनि करिब डेढ महिना पहिले सूचना निकालेर मन्त्रालयहरू, निकाय तथा आयोगहरुबाट रिक्त पदहरुमा फाराम सकंलन गर्न सुरु गरेको थियो ।

सबै मन्त्रालय तथा निकायहरुको रिक्त पदहरुको संकलन भएको मन्त्रालयले जनाएको छ । आयोगले यस वर्ष विज्ञापन नखुलाउने हो भने ठूलो संख्यामा कर्मचारीको अभाव हुने छ । मन्त्रालयका अनुसार यस वर्ष कम्तीमा संघमा १५ देखि २० हजारको कर्मचारी अभाव हुने छ । निजामती कितावखानाका अनुसार हरेक वर्ष करिब २ हजार ५ सयको हाराहारीमा निजामती कर्मचारीले अवकाश लिने गर्छन । यस वर्ष २ हजार ४ सय ८० कर्मचारीले अनिवार्य अवकाश लिन लागेको सूची कितावखानाले सार्वजनिक गरेको छ, ।

सूचनामा यस वर्ष एक मुख्य सचिव, १९ जना सचिव तथा ६सय २१ जना शाखा अधिकृत तहका कर्मचारीले अनिवार्य अवकाश पाउँदै छन् । सरकारले २ वर्ष अघि ४८ हजार २ सय संघमा, करिब २२ हजार प्रदेशमा र करिब ६८ हजार स्थानिय तहमा ओएनएम गरेको छ । कर्मचारी समायोजन गरेको वर्ष २०७५ मा भने सरकारको आग्रहमा आयोगले विज्ञापन खुलाएको थिएन ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्