बलान बिहुल नदीमा बाँध निर्माणका लागि प्रदेश सरकारलाई ध्यानाकर्षण



जनकपुरधाम : प्रत्येक वर्ष बाढीपहिरोको चपेटामा पर्दै आएका सप्तरीको बलान बिहुल नदीको नियन्त्रण तथा रोकथामका लागि प्रदेश २ सरकारलाई ध्यानाकर्षण गराइएको छ ।

आज (मंगलवार) भौतिक पुर्वधार विकास मन्त्री जितेन्द्र सोनललाई प्रतिनिधि सभा सदस्य रेणु यादवको उपस्थितिमा प्रदेशसभा सदस्य अभिषेक यादव र सो गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले नदीमा बांध निर्माणको माग गर्दै छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत दुई वर्षअघि पुर्वमा बिहुल र पश्चिममा बलान नदीको बाँध फुटेर जिर्ण भएको कारण बलान विहुल गाउँपालिकाका स्थानीयहरु वर्षायाममा बाढीको त्रासमा बाँच्नुपर्ने बाध्यता रहेकोले तत्काल बाँध निर्माण गर्न माग गरिएको छ ।

बाँध जिर्ण भएका कारण बाढीले बगाएपछि गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ समेत बग्ने सम्भावना रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नदीको बाँध अत्यन्त जिर्ण रहेकोले जुनसुकै बेला पनि सो बाँध भत्केपछि वस्ती भित्र पानी पस्दा धनजनको ठुलो क्षति हुन जाने भएकोले तत्काल प्रदेश सरकारलाई ध्यान पुर्याउन भनिएको छ ।

स्थानीयको जिउज्यान र खेतीबालीको सुरक्षाका लागि नदी नियन्त्रणका लागि गाउँपालिकाले विस्तृत परियोजना समेत तयार पारिसकेकोले नदीको निरिक्षणका लागि आग्रह गर्दै बलियो र आधुनिक बाँध निर्माणका लागि नदी नियन्त्रण योजना अन्तर्गत उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न गाउँपालिकाले माग गरेको छ ।

ध्यानाकर्षण बुझ्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रलाई नदी नियन्त्रण योजना अन्तर्गत प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको भन्दै तत्कालै कार्य अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रकाशितः १३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्