राजदूत नियुक्तिकाे सिफारिसले नेकपामा पुनः विवाद




काठमाडौं : राजदूत नियुक्तिको सिफारिसले नेकपामा पुन : विवाद उत्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा महत्वपूर्ण नियुक्ति गरेपछि पुनुः विवाद भएको हो ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाका लागि पूर्वअर्थमन्त्री यूवराज खतिवडा र बेलायतका लागि लोकदर्शन रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेकोमा नेकपामा असन्तुष्टि देखिएको छ ।

बैठकले मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । पार्टी निर्णयविपरित सरकारले महत्वपूर्ण नियुक्ति गरेको र यसबारे अब पार्टी सचिवालयमा प्रवेश पाउने नेताहरुले बताएका छन् ।

स्थायी कमिटी र सचिवालयको निर्णयविपरीत प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति गरेकोमा अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका धेरैजसो सदस्य असन्तुष्ट बनेका छन् । राजनीतिक नियुक्ति, मन्त्रिपरिषद् पुर्नगठनलगायत विषयमा सहमति जुटाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल निरन्तर संवादमा थिए ।

प्रधानमन्त्री ओलीले दाहालसँग परामर्श नगरी नियुक्ति गरेपछि उनीलगायत सचिवालयका धेरै सदस्य असन्तुष्ट बनेका हुन् । दाहालले यसबारे सचिवालयका अन्य सदस्यसँगसमेत संवाद गरिसकेका छन् ।

सचिवालयका एक सदस्यले भने,‘पछिल्ला नियुक्तिलाई लिएर अध्यक्ष दाहालसँग छलफल भयो । यो विषयमा आवश्यक छलफल सचिवालयमा गर्ने भन्ने तय भएको छ ।’ उनका अनुसार प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि असन्तुष्ट नेताहरुले सचिवालय बैठक बोलाउन दाहाललाई दबाब दिएका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले पनि बिहीबार सरकारले गरेका नियुक्तिका विषयमा पार्टीमा छलफल नभएको बताए । खनालले भने,‘सचिवालयको बैठक बसेको छैन । व्यक्तिगत रुपमा पनि हामीसँग सल्लाह भएको छैन । हामी पनि नियुक्तिबारे प्रेसबाट सुन्दै छौँ । स्थायी कमिटीले गरेको निर्णय के हो ? मैले त बुझ्नै सकेको छैन ।’

यसअघि पार्टी विवाद समाधानका लागि महासचिव नेतृत्वको कार्यदलले काम गरिरहेका बेलासमेत प्रधानमन्त्री ओलीले धमाधम राजनीतिक नियुक्ति गरेपछि नेकपामा तनाव भएको थियो । नियुक्तिलाई लिएर पार्टी र सरकारबीच तनाव भएपछि मापदण्ड बनाएर नियुक्ति गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्