पप सिंगर स्विफ्टले टेनेसीको तेस्रोलिंगी अधिकार समूहलाई १ लाख डलर दिइन् 



एजेन्सी : हलिउड गायिका टेलर स्विफ्टले अल्पसंख्यक यौनअधिकारवादी (एलजिबिटिक्यू) समूहलाई १ लाख १३ हजार अमेरिकी डलर दिएकी छन्। अमेरिकाको दक्षिणी राज्य टेनेसीस्थित टेनेसी इक्वालिटी प्रोजेक्ट (टिइपी) लाई २९ वर्षीया पप सिंगरले एलजिबिटिक्यूको अधिकारका पक्षमा गतिलो काम गरेको भन्दै सहयोग गरेकी हुन्।

पछिल्लो समय उनी टेनेसीमा बस्छिन्। टेनेसीमा एलजिबिटिक्यूविरुद्ध पछिल्लो समय निकैवटा कानुन जारी गरिएको छ। ती कानुनको विरोध गर्दै एलजिबिटिक्यूको अधिकारका पक्षमा टिइपीले १ सय ५० धार्मिक नेतालाई एकै ठाउँमा उभ्याउने प्रयास गरिरहेको छ।

टिइपीका कार्यकारी निर्देशक क्रिस स्यान्डर्सले स्विफ्ट पहिलेदेखि नै एलजिबिटिक्यूको अधिकार प्राप्तिमा सहयोगी बनेकी र उनले आर्थिक सहायता गरेको जानकारी दिए।

राजनीतिक वा सामाजिक मुद्दामा नबोल्ने पप सिंगरको वाणी गत सेप्टेम्बरयता भने निकै मुखर भएको छ। मध्यावधी निर्वाचनमा उनले डेमोक्रेट उम्मेदवारका पक्षमा मतदान गर्न आह्वान गरेकी थिइन्।

टेनेसीको संसद्मा पेस गरिएकामध्ये एउटा विधेयक पारित भए कुनै पनि दम्पतीले धार्मिक वा नैतिक कारणबाट धर्मसन्तान ग्रहण गर्न पाउने छैनन्। समलिंगी, गे, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेन्डर र क्वेयरलाई अधार्मिक र अनैतिक मान्ने रुढीवादी अमेरिकीहरूले घृणा र विभेद गर्ने कानुनी आधार पाउनेछन्। त्यहाँको नेचुरल म्यारिज डिफेन्स एक्टले समलिंगी विवाह निषेध गरेको छ।

प्रतिक्रिया दिनुहोस्