१० जना व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण हुन सक्ने : डब्लूएचओ



एजेन्सी : विश्वमा हरेक १० जना व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ ।

सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार मंगलबार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ५४ लाख नाघेको छ । डब्लूएचओले भने करिब ८० करोड मानिस कोरोनाबाट संक्रमित हुन सक्ने बताएको छ । जनस्वास्थ्यविद्हरुले लामो समयदेखि अहिले पुष्टि भएको संख्याभन्दा निकै धेरै कोरोनाबाट संक्रमित भइसकेको हुन सक्ने बताएका छन् । डाक्टर ऱ्यानले विश्वको जनसंख्याको १० प्रतिशतमा कोरोना संक्रमण हुन सक्ने बताएका छन् ।

कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि विश्वका सबै मुलुकले ऐक्यबद्धता र सामूहिक नेतृत्व देखाउनुपर्ने डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले बताए ।

उनले सबै मुलुक कोरोना महामारीबाट प्रभावित भएका छन् तर केही मुलुक अलि बढी नै प्रभावित भएको बताए । विश्वमा संक्रमण पुष्टि भएको संख्याको ७० प्रतिशत १० वटा मुलुकमा मात्रै रहेको छ भने कुल मृत्यु हुने संख्याको आधा संख्या तीन वटा देशमा मात्रै रहेको उनले बताए ।

विश्वमा अहिलेसम्म कोरोनाका कारण १० लाख ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसको करिब आधा संख्या अमेरिका, ब्राजिल र भारतमा रहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म कोरोनाका कारण अमेरिकामा २ लाख १० हजार १ सय ८१, ब्राजिलमा एक लाख ४६ हजार ६ सय ७५ र भारतमा एक लाख २ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्