अस्पतालका निर्देशकहरुसँग स्वास्थ्य मन्त्रीको छलफल



काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले (कोभिड-१९) अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् ।

(कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए ।

मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए ।

नजिकै आइरहेको चाडपर्वमा हुने भीडभाडले (कोभिड-१९) को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिएका छन् । उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्ने गरी काम गर्न निर्देशन दिए । छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो ।

उनहरूले (कोभिड-१९) का कारण भोगि रहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । मन्त्री ढकालले यसअघि स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवालाहरूसँग नियमित रूपमा छलफल गर्दै आएका छन् ।

प्रकाशित -२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्