यौन दुर्व्यवहारको आरोपमा खानेपानी बोर्डका कार्यकारी निर्देशक पक्राउ



चितवन : भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल एक युवतीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका छन्।

दाहालले मंगलबार राति युवतीलाई आफ्नो क्वार्टरमा बोलाएर यौन दुर्व्यवहार गरेको भनी युवतीले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। दाहालले श्रीमती नभएको मौकामा युवतीलाई राति ८ बजे क्वार्टरमा बोलाएका थिए।

दाहालले यौन दुर्व्यवहार गरेपछि क्वार्टरबाट भाग्न खोज्दा खुट्टासमेत मर्किएको पीडितले बताएकी छन्। दाहालले युवती चढेर आएको स्कुटर र मोवाइल जफत गरेर राखेका थिए। त्यसपछि राति नै युवती अटो चढेर गएकी थिइन्।

युवती गैंडाकोटको एक उद्योगमा काम गर्ने जनाइएको छ। युवतीले जिल्ला प्रहरी कार्यालयको महिला सेलमा कार्यकारी निर्देशक दाहालविरुद्ध उजुरी दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौंरले जानकारी दिए।

महिला सेलमा दिउँसो सोधपुछपछि प्रहरीसहित कार्यालयको ना३४च ५४४० नम्वरको सवारीमा वुधबार साँझ क्वार्टर पुगेका दाहालले जफत गरेको मोवाइल र स्कुटर युवतीका आफन्तलाई बुझाएका छन्।

उनका साथमा आएका दुई प्रहरीले दाहाललाई पुनः जिल्ला प्रहरी कार्यालय लगेका छन्। दाहालले युवतीलाई करिब डेढ लाख रकम दिएको स्रोतले जनाएको छ। दाहालले भने लेनदेनको विषय भएको दावी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्