काठमाडौंमा सङ्क्रमणको जोखिम कम गर्न ‘गर्नैपर्ने तीन काम’



काठमाडौं : काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमण दर चर्किँदै गएपछि सरकारले ‘विशेष सतर्कता’ अपनाउन सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बारम्बार यस्तो आग्रह गरिरहेका बेला बुधवार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि सोही कुरा दोहोर्‍याए छन् ।

मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले काठमाडौं उपत्यका अब कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, “अरु जिल्लाहरूमा कोरोनाको प्रकोप विस्तारै नियन्त्रणोन्मुख भए पनि काठमाडौं उपत्यका उच्च जोखिममा छ ।

“हाल प्रत्येक दिन देखिने सङ्क्रमितमध्ये आधा वा आधाभन्दा बढी सङ्क्रमितहरूको सङ्ख्या काठमाडौं उपत्यकामै भएको र अहिलेसम्म त्यो सङ्क्रमण चाहिँ नियन्त्रणोन्मुख नदेखिएकाले काठमाडौंवासीले अत्यन्तै सतर्कता अपनाउनुपर्ने जरुरी छ ।”

“झण्डै ४० लाख मानिस बसोबास गर्ने यो उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पुर्‍याउनसक्ने अवस्था भएको हुनाले म काठमाडौंवासी दाजुभाई दिदीबहिनीहरूलाई आफूले सेवा लिँदा वा दिँदा, आफ्नो व्यवसाय गर्दा वा व्यवसायबाट सहयोग पुर्‍याउँदा वा सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिडडुल गर्दा अरु खालका गतिविधिहरू गर्दा…. काठमाडौंमा उच्च सतर्कता अपनाउनका निम्ति म विशेष आग्रह गर्न चाहन्छु ।”

मन्त्री ज्ञवालीले दसैँ आउनै लागेकोले पनि जोखिमपूर्ण समूहका अभिभावकहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्न पनि सबैलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

दसैँ मनाउन सहरबजारबाट गाउँ जाने र गाउँबाट फेरि फर्केर आउने नगर्न पनि उनले सबैलाई आग्रह गरेका थिए ।

सरकारले बारम्बार ‘विशेष सतर्कता अपनाउन’ आग्रह गरिरहेका बेला कतिपय विशेषज्ञहरूले चाहिँ सरकारले यस्तो आग्रह गर्ने तर आफैले गरेका कडाइहरू कार्यान्वयनका लागि चासो नदिएको आरोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा जोखिम बढेको भनिएका बेला विज्ञहरूले सतर्कता अपनाउन दिएका तीनवटा मुख्य सुझावहरू यस्ता छन्:

१. हरेक क्षेत्रका लागि मापदण्ड बनाएर लागु गर्ने

काठमाडौं उपत्यकामा बढ्दो सङ्क्रमणको जोखिम कम गर्न सरकारले तत्कालै हरेक क्षेत्रहरूका लागि फरक-फरक मापदण्ड बनाएर लागु गर्नुपर्ने कतिपय विज्ञको धारणा छ ।

जनस्वास्थ्य विज्ञ भोगेन्द्र डोटेल बीबीसीसँग भन्छन्भ, “सङ्क्रमण समुदायमा गइसक्यो। घरलाई आइसोलेशन बनाउनुपर्ने अवस्था आइसक्यो । त्यसैले हाम्रो स्वास्थ्य मन्त्रालयले हरेक कुराका लागि स्वास्थ्य मापदण्ड बनाएर लागु गर्नुपर्‍यो ।”

“हवाई जहाज संचालनका लागि मापदण्ड बनाइएको छ। तर हरेक क्षेत्रको फरकफरक मापदण्ड खै ?”

उनले बनाएका मापदण्डहरू पालन भएको वा नभएको अनुगमन गर्ने काम पनि नभएकाले लगातार अनुगमन गर्ने संयन्त्र आवश्यक भइसकेको बताए ।

उनले भने, “हामीले मानिसहरू दसैँमा घर गइरहेका छन् कोचिएर पनि जाउन् भनेर छाड्ने हो त? कसरी गइरहेका छन् हेर्ने हो नि ।”

२. कार्यालयदेखि पसल र होटल रेस्टुरेन्टसम्म पस्ने तथा निस्कनेभिन्नाभिन्नै व्यवस्था

अर्का जनस्वास्थ्य विज्ञ बाबुराम मरासिनी चाहिँ जताततै भिडभाड बढेकाले सङ्क्रमणको जोखिम निकै नै धेरै भएको बताउँछन् ।

उनी अब सरकारी कार्यालयहरूले पनि सेवा दिँदा बाहिरैबाट सेवा दिने व्यवस्था गर्ने बेला आइसकेकोमा जोड दिन्छन् ।

मरासिनी बीबीसीसँग भन्छन्, “हामीकहाँ होटल, रेस्टुरेन्टदेखि सपिङ मलसम्म एउटै ढोकाबाट पस्ने र निस्कने गरिएको छ । त्यसलाई सुधार गरेर एउटाबाट पस्नेमात्र र अर्कोबाट निसक्नेमात्र गर्ने बेला भयो। कसैले अनुहर नै नदेखुन् अब पिठ्यु मात्र देख्नेगरी पस्ने र निस्कने व्यवस्था गर्न सकियो भने मात्र बच्न सकिन्छ ।”

उनी मानिसहरूले पनि त्यस्तैखाले व्यवस्था भएका स्थानमा मात्र सामानहरू किन्ने वा सेवा लिने गर्नुपर्ने सुझाव दिन्छन् ।

३. घरबाट बाहिर जाँदै नजाने

उपत्यकामा जोखिम बढेसँगै जोखिम समूहका मानिसहरू सम्भवभएसम्म घरबाट बाहिर निस्कनु नहुने विज्ञहरूको सुझाव छ ।

डोटेल भन्छन्, “अब लकडाउन गर्ने अवस्था छैन । हुन त गर्न पनि सकिएला तर यो बेला जोखिम समूहमा पर्ने मानिसहरू घरबाट कुनै पनि हालतमा बाहिर निस्कनु भएन । निस्किनेलाई बरु कारबाही नै गर्ने व्यवस्था गर्ने हो वा स्थानीय सरकारलाई खटाएर अनुगमन गर्ने हो गर्नुपर्‍यो ।”

मरासिनी पनि घरमा सामानै किनेर ल्याउँदा पनि ल्याइदिने व्यक्ति होस् वा अन्यबाट हुन सक्ने सम्भावित सङ्क्रमण रोक्ने व्यवस्था मिलाउन सुझाव दिन्छन् ।

उनी उपत्यकामा जोखिम कम गर्न जनताले पनि उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिन्छन् ।

अन्य सुझाव के छन् ?

विज्ञहरूले कोरोनाभाइरसबाट जोगिनका लागि दूरी कामय गर्ने, बारम्बार हात धुने, मास्क लगाउनेलगायतका सुझावहरूलाई दोहोर्‍याएका छन् । यसका साथै पछिल्ला समयमा हावामा पनि केही घण्टा भाइरस रहने देखिएका प्रमाणहरू भेटिएको भन्दै उनीहरूले सकेसम्म बन्द स्थानमा धेरै मानिसहरू धेरैबेर नबस्न र घरभित्रै पनि अन्य मानिसको उपस्थितिमा रहँदा मास्क प्रयोग गर्न सुझाव दिएका छन् ।

यो पनि

बुधबार थपिए ३४३९ संक्रमित, १५ जनाको मृत्यु

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्