सुसाइड नोट लेखेर भारतका पूर्वसीबीआईले गरे आत्महत्या



नयाँदिल्ली : भारतका पूर्वसीबीआई निर्देशक तथा नागाल्याण्डका पूर्व राज्यपाल अश्वनी कुमार आफ्नै निवासमा आत्महत्या गरेका छन् ।

उनी पछिल्लो समय सिमलास्थित आफ्नै निवासमा रहँदै आएका थिए । ७० वर्षको उमेरमा उनले जीवनबाट थाकेर यस्तो निर्णय गरेको भन्दै सुसाइड नोट पनि लेखेको भेटिएको छ । घटनास्थलबाट उनको शव प्रहरीले उठाएर गम्भीर रुपमा अनुसन्धान गरेको जनाएको छ ।

अश्वनी कुमार २००६ देखि २००८ सम्म हिमाञ्चलको प्रहरी महानिर्देशक (डीजीपी) को जिम्मेवारीमा थिए । यस्तै सन् २००८ देखि २०१० मा सीबीआई निर्देशक थिए । २०१३ मा उनी नागाल्याण्डका राज्यपाल नियुक्त भएका थिए ।

२०१४ मा राज्यपालबाट राजीनामा दिएपछि उनी सिमलाको एक निजी विश्वविद्यालयमा भिसी भएर काम गरिराखेका थिए । उनको निवासमा भेटिएको सुसाइड नोटमा उनले जीवनबाट थकित भएर आत्महत्या गरेको उल्लेख छ । यसबारे प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

प्रकाशित : २२ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्