‘वरिष्ठता मिचेर’ भएको नियुक्ती बर्खास्तीको मागपछि डा.केसीको वार्ता अनश्चित



काठमाडौं : सरकारी वार्ता टोलीले समय नदिँदा डा.गोविन्द केसी र सरकारी पक्षबीच आज (शुक्रबार) हुने भनिएको वार्ता भएन ।

आमरण अनसनमा रहेका डा.केसीको वार्ता आज बिहानैदेखि पुनः छलफल गर्ने गरी हिजो (बिहीबार) राति सकिएको थियो तर सरकारी वार्ता टोलीले समय नदिँदा अनश्चित बनेको छ ।

डा.गोविन्द केसी पक्षधरहरुले बिहीबारको वार्तामा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा ‘वरिष्ठता मिचेर’ नियुक्त भएका डिन डा.दिव्या सिंह र डा.दिनेश काफ्लेको बर्खास्तीको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत रहेकी डा.सिंहको बर्खास्तीको विषय आएपछि सरकारी पक्षले त्यस विषयमा प्रधानमन्त्रीसँग परामर्श गरेर जवाफ दिने बताएका हो ।

सरकारी वार्ता टोलीले आन्तरिक गृहकार्य र प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने कारण देखाउँदै आजको वार्ताका लागि समय उपलब्ध नगराएको डा.केसी पक्षको भनाइ छ । डा.केसीले आफ्नो १९ औं चरणको आमरण अनसनमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु खारेजीको मागलाई प्रमुखताका साथ उठाएका छन् ।

हिजो करिब १० घण्टासम्म चलेको वार्तामा सहमतिका लागि भनेर पहिलो मस्यौदा तयार भएको छ । तर, मस्यौदाका सन्दर्भमा दुवै पक्षले अन्तिम सहमति जनाएका छैनन् ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्