विचारधीन मुद्दाको फैसला पर्खिरहेका युवकको कोरोनाले मृत्यु



विराटनगर : विचारधीन मुद्दाको फैसला पर्खिरहेका एक कैदीबन्दी युवकको कोरोनाका कारण मृत्यु भएको छ ।

विराटनगरस्थित जिल्ला कारागार मोरंगमा कोरोना संक्रमणका कारण उनको मृत्यु भएको हो । कोशी अस्पताल आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार इटहरी उपमहानगरपालिकाका २० वर्षीय युवकको शुक्रबार बिहान करिब साढे १० बजे उपचारकै क्रममा मृत्यु भएको छ ।

बिरामीमा श्वासप्रश्वासको अधिक समस्या देखिएको र उनलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने भए पनि त्यो उपलब्ध नभएको डाक्टरको भनाइ छ । अक्सिजनका लागि आइसोलेसनबाट (कोभिड–१९) उपचार केन्द्रमा बिरामीलाई थप उपचारका लागि पठाउने प्रयास गरिएको भएपनि बेड खाली नहुदाँ समस्या भएको बताइएको छ ।

मोरंग कारागारका जेलर सुवास लामिछानेका अनुसार युवकको स्वास्थ्यमा समस्या देखिपछि बिहीबार विहान कोशी अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिपछि महरा थरका युवकको पिसिआर नमूना संकलन गरि अस्पतालकै ल्याबबाट राती पोजिटिभ रिपोर्ट आएको थियो ।

उनलाई कोशी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको जेलर लामिछानेले बताए । ति युवक लागु औषध मुद्दामा अदालतको आदेशबाट विगत ८ महिनादेखि कारागारमा बन्दी जीवन बिताइरहेका थिए ।

प्रकाशित : २३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्