पुराना संग्रहालयको पर्खाइमा, नयाँ थन्कियो



जनकपुरधाम : सरकारले एकातर्फ भारतको जयनगरदेखि जनकपुरधामसम्म आधुनिक ब्रोडगेज रेल चलाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने अर्कोतर्फ रेल्वेका पुराना ईन्जिनहरु संरक्षण अभावमा कवाडामा परिणत भईरहेका छन् । नयाँ खरिद गरी ल्याइएका रेलका इन्जिन र बोगी समेत कानून तथा जनशक्तिको अभावमा धनुषाको इनरवामा थन्काएर राखिएको छ ।

उता, ऐतिहासिक न्यारोगेज रेलका पुराना सम्पत्तिहरू भने कवाडामा परिणत भईरहेका छन् । राज्यले चासो नदिँदा न्यारोगेज रेलका पुराना वाष्प इन्जिन, बोगी लगायतका सामानहरु लथालिङ्ग अवस्थामा छन् । रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्टपूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेको सहजै देख्न सकिन्छ ।

भारतको जयनगरदेखि जनकपुरधामसम्म चल्ने न्यारोगेज रेललाई ब्रोडगेजमा परिणत गरिएको छ । नेपाल सरकारले लगभग ७ वर्षपछि बन्द रहेको रेल सेवा छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि ब्रोडगेज रेलको इन्जिन तथा बोगी खरिद गरी नेपाली भूमिमा समेत ल्याई सकिएको छ । यद्यपि नयाँ खरिद गरी ल्याइएका ती रेलका इन्जिन र बोगी थन्काएर राखिएको छ ।

कानून तथा जनशक्तिको अभावमा रेललाई धनुषाकै इनरवामा थन्काएर राखिएको हो । इन्जिन र बोगी नेपाल ल्याइएपनि रेलसेवा कहिलेदेखि सञ्चालनमा आउने अहिलेसम्म त्यसको निक्र्यौल लाग्न सकेको छैन । यता यसअघि जनकपुरदेखि जयनगरसम्म चल्ने नेपाल रेल्वेका पुराना डिजेल इन्जिन तथा कोइलाका इन्जिनहरुको संरक्षण हुन नसक्दा कबाडमा परिणत भईरहेका छन् ।

यसअघि रेलमार्गमा आएको न्यारोगेज रेलका पुराना सम्पत्तिहरू कवाडीमा परिणत भएका छन् । ब्रोडगेज रेलमार्गको निर्माण थालिएसँगै राज्यले चासो नदिँदा पुराना कोइलाबाट चल्ने इन्जिन लथालिंग अवस्थामा छन् । ब्रोडगेज निर्माण गर्नका लागि रेलसेवा बन्द भएपछि पुराना इन्जिन, बोगी र अन्य महत्वपूर्ण पार्ट पूर्जाहरू संरक्षण अभावमा खिया लागेर नष्ट भइरहेका छन् ।

नेपाल रेल्वेको यी सम्पतिहरुको संरक्षणका लागि नेपाल सरकारले १६ जना कर्मचारी खटाएका थिए तर अधिकांश कर्मचारी अवकाश प्राप्त गरेपछि अहिले २ जना कर्मचारी मात्रै छन् । अहिले खजुरीमा रहेको ती पूराना इन्जिनहरुको रेखदेखका लागि सैलुन कवारी र उत्तिमलाल पण्डितलाई खटाइएको छ । एक जनाको ड्युटी दिनमा छ भने अर्काको रातिमा । तर सरोकारबालाको हेल चक्रयाईँका कारण ती सामानहरु दिन दिनै चोरी भईरहेको छ ।

जनकपुरधामबाट १५ किलोमिटरको दुरीमा पर्ने खजुरी रेल्वे स्टेसनस्थित थन्काइएका सीता, विष्णु, ब्रह्मा, गोरखनाथ, पशुपतिनाथ, महावीर नामक रेल इन्जिनको संरक्षण हुन सकेको छैन । २०५० सालसम्म कोइला इन्जिनले सेवा दिँदै आएको नेपाल रेल्वेलाई २०५१ सालमा भारत सरकारले १८ बोगी सहितको डिजेल इन्जिन सहयोग गरेपछि जनकपुरधाम-जयनगर रेल मार्गमा आधुनिक रेल सञ्चालनमा आएको थियो ।

विश्वभरी नै विस्थापित भइसकेको कोइला इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने आवाज पनि पटक पटक उठ्दै आईरहेको छ । यस विषयमा नेपाल सरकार पनि सकारात्मक देखिएको छ । तर कुनै ठोस कदम भने अहिलेसम्म उठाइएको छैन । विश्वभरी नै विस्थापित भइसकेको वाष्प इन्जिनलाई संरक्षण गरेर संग्रहालयको स्वरुप प्रदान गर्नुपर्ने चौतर्फि रुपमा आवाज उठेपनि सरकारले भने अहिलेसम्म पनि कुनै ठोस कदम उठाएको छैन् ।

नेपाल रेल्वेका ती पुराना ईन्जिनहरुलाई संरक्षण गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सोही गाउँका मनोज साहले बताए । सरकारको ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ सरकारले ध्यान नदिपछि स्थानीय चिन्तित छन् ।

यी पुराना ईन्जिनहरुलाई संरक्षण सम्बद्र्धन गर्न सकिए खजुरीलाई एउटा पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सोही गाउँका पत्रकार अवधेश कामतले बताए । यसका साथै आर्थिक रुपले समेत फाइदा उठाउन सकिने उनको भनाई छ । उनले स्थानीय जनप्रतिनिधि समेत आइसकेकोले स्थानीय सरकारले समेत ती इन्जिनहरुको संरक्षणमा पहल गर्नुपर्नेमा जोड दिए ।

महत्वपूर्ण र ऐतिहासिक सम्पत्तिको रूपमा रहेपनि यसको संरक्षण र संग्रहालय निर्माणतर्फ कुनै निकायले ध्यान नदिपछि स्थानीय धनिकलाल दास चिन्तित छन् । सरकारी स्तरबाट कुनै चासो नदेखाइएपछि खजुरीवासी स्वयं यसका लागि पहल सुरु गरेका छन् ।

नयाँ पुस्तालाई इतिहासबारे अवगत गराउनकै लागि भएपनि आफूहरु संग्रहालय निर्माणका लागि विभिन्न निकायमा पुगेर पहल सुरु गरेको जनकनन्दनी गाउँपालिका वडा नम्बर–४ खजुरीका वडाध्यक्ष हरिश्चन्द्र साहले बताए ।

खजुरीमा नेपाल रेल्वेको १० विघाभन्दा बढी जग्गा रहेको छ । त्यो जग्गालाई उपयोग गरेर संग्रहालय निर्माण गर्न सकिने स्थानीयवासीहरुको भनाई छ ।

ती इन्जिनहरू अन्यत्र लगिए कवाडीको मूल्यमा बिक्री हुने निश्चित रहेको नेपाल रेल्वेका कर्मचारी हेम बहादुर कटुवाल बताउँछन् । रेल्वेका पुराना संरचना जोगाउन संग्रहालय निर्माणका लागि आफूहरूले विभिन्न निकायसँग माग गर्दै आएको उनले बताए ।

यता रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले संग्रहालय निर्माणको कार्य सम्भाव्यता अध्ययनपछि सुरु गरिने जानकारी दिए । उनले भने,‘रेल्वेका पुराना सम्पतिहरु संरक्षण गर्नुपर्छ, त्यसमा रेल विभाग गम्भिर रहेको र छिट्टै नै धनुषाको खजुरीमा संग्रहालय निर्माण गर्ने प्रक्रिया अगाडी बढाइने छ ।’

महाप्रबन्धक भट्टराईका अनुसार खजुरीमा संग्रहालय निर्माणको सम्भाव्यता अध्ययनका लागि १ लाख ५० हजार रुपैयाँ बजेट समेत छुुट्याइएको छ । उनले सम्भाव्यता अध्ययन सकिए लगत्तै संग्रहालय निर्माणको प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

प्रकाशित : २६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्