मुख्यमन्त्री शाहीविरुद्ध परेको प्रस्तावमा संसदीय दलकाे छलफल जारी



काठमाडौं :कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावबारे संसदीय दलमा छलफल हुँदैछ ।

आइतबार संसदीय दलमा पेश गरिएको उक्त प्रस्तावबारे मंगलबार छलफल हुन लागेको हो । पूर्वएमालेका १५ र पूर्वमाओवादीका ३ गरि १८ सांसदले दलका नेता शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहसमक्ष अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतक शाहलाई जिम्मेवारीबाट हटाउँदै सचेतक सीता नेपालीलाई प्रमुख सचेत नियुक्त गरेका थिए । अविश्वासको प्रस्ताव आइसकेपछि प्रमुख सचेतक फेरेको भन्दै बहुमत सांसदहरूले त्यसलाई नमान्ने बताएका छन् ।

सोहीअनुसार मंगलबार शाहले प्रमुख सचेतकका रूपमा छलफल चलाउँदै छन् । यसअघि मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो तर, त्यसलाई अघि सारेर ११ बजे नै बैठक तय गरिएको छ ।

सोमबार नियुक्त भएकी सचेतक नेपालीले भने ७ असोजमा दलको बैठक बोलाएकी छिन् । मंगलबारको बैठकमा मुख्यमन्त्री शाही पक्षका सांसदहरू भने सहभागी हुने छैनन् । कर्णालीमा देखिएको विवादबारे सोमबार नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

सोमबार नै अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि यो विषयमा छलफल गरेका थिए । कर्णालीमा देखिएको समस्या समाधानबारे नेताहरूबीच केन्द्रमा सहमति बन्न सकेको छैन भने प्रदेश सांसदहरूले केन्द्रको निर्णय नमान्ने बताउँदै आएका छन् ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्