माग पूरा नगरिए कडा अान्दाेलनमा जाने राजपा नेताकाे चेतावनी



सर्लाही : राजपाकाे  शीर्ष नेतृत्वले राजपा देशको तेस्रो ठूलो पार्टी भएकाले वैकल्पिक शक्तिको रुपमा एक ढिक्का भएर अगाडि बढ्ने बताएका छन् । 

दीपावली तथा छठ पर्वको अवसरमा गोडैतामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरुले साे कुरा बताएका हुन् । 

 

पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा नेपालसँग सरकारले गरेको सहमतिअनुसार संविधान संशोधन, रेशम चौधरीको रिहाई, झुठा मुद्दा फिर्तालगायत माग पूरा गरिएन भने कडा आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

त्यस्तै अध्यक्ष मण्डलका अर्का शरद सिंह भण्डारीले महाधिवेशनबाट राजपा नेपाल एक ढिक्कामा बाँधिने विश्वास व्यक्त गरे । 

अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले गोडैता नगरपालिकालाई यस क्षेत्रकै नमूना नगरपालिकाको रुपमा विकास गरिनुपर्नेमा जोड दिँदै उखु किसानको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताए । 

 

अध्यक्ष मण्डलका अर्का सदस्य अनिलकुमार झाले संविधान संशोधन नभएन पुनः आन्दोलनका लागि तयार रहन सबैलाई आग्रह गरे । 

 

गोडैता नगरपालिका प्रमुख देवेन्द्र यादवले नगरपालिकाको बगदहमा निर्माण भइरहेको चिनी मिलमा पचास प्रतिशत नगरवासीलाई रोजगार दिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्