सरकारले एक हजारमा ‘एन्टिजेन’ परीक्षण गर्ने



काठमाडौं : सरकारले एक हजार शुल्क लिएर कोरोना भाइरसको ‘एन्टिजेन’ परीक्षण गर्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरे बापत एक हजार शुल्क लाग्ने जानकारी दिएका छन् ।

उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने बताए । यसरी प्रयोगशालाहरूले परीक्षण गरेपछि पोजेटिभ नतिजा आए इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी गराउने भनिएको छ ।

साथै नतिजा नेगेटिभ आए सम्बन्धित व्यक्तिहरूलाई नै जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ । निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिए पनि यसलाई कतिपय विज्ञहरूले विश्वसनीयता नभएको भन्दै प्रयोग नगर्न सुझाउँदै आएका छन् ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा भाइरस समात्ने सम्भावना निकै कम हुने भन्दै विज्ञहरूले यसको प्रयोग गर्नु घातक हुन सक्ने औंल्याएका छन् । भाइरोलोजिष्ट डा. लुना भट्टले एन्टिजेन टेष्टले भाइरसको निश्चित विन्दुलाई समात्ने सम्भावना निकै कम रहेको र पोजेटिभ नतिजाहरू पनि नेगेटिभ देखाइ दिने उनको तर्क छ ।

प्रकाशित :२७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्