प्रदेश २ मा मंगलबार ४ जनाको मृत्यु, ८९ नयाँ संक्रमित थपिए



जनकपुरधाम : कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा आज (मंगलबार) ४ जनाको मृत्यु भएको छ ।

आज सर्लाहीमा ३ र सप्तरीमा १ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए । यससँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५३ पुगेको छ ।

आज मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं. १ का ३१ वर्षीय पुरुष, बागमती नगरपालिका वडा नं. ११ का ७० वर्षीय पुरुष, हरिवन नगरपालिका वडा नं. १० का ३८ वर्षीय पुरुष र सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ ललितपुरका ६६ वर्षीय महिला रहेकी छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय २१ पुगेको छ ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परिक्षणमा सबैको रिपोर्ट पोजेटिभ आएको डा. यादवले बताए ।

मंगलबार सप्तरीमा ४८, बारामा १२, पर्सामा ८, सिरहामा ७, सर्लाहीमा ५, धनुषामा ३, रौतहटमा २ र अन्य प्रदेशका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १ सय २१ जना संक्रमितहरु डिस्चार्ज भएर घर फर्केका छन् । आज २० महिला र १ सय १ पुरुष डिस्चार्ज भएका छन् । यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १२ हजार २ सय ९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश २ मा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ७५ रहेको छ ।

प्रकाशित : २७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्