दुई महिनाकै अवधिमा सुनकाे भाउ अाकासियाे



काठमाडौँ : सुन प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको छ ।

 

अन्तर्राष्ट्रिय बजारमासमेत डलर कमजाेर बन्नुका साथै सेयर बजारसमेत तल झरेका कारण यसको असर सुन बजारमा परेको हो । डलरसँग भारतीय रुपैयाँ कमजोर हुनु र भारुसगँ नेपाली रुपैयाँको स्थिर विनिमय दरका कारण सुनको भाउ आकासिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले जानकारी दिए ।

 

साउन ३० गते प्रतितोला ५६ हजारमा कारोबार भएको सुन दुई महिनाको अवधिमा करिब पाँच हजारको हाराहारीमा वृद्धि भइ बिहिवार ६० हजार चार सय पुगेको हो । ‘ भारु तलमाथि भइरहेको छ ।’, शाक्यले भने, ‘त्यसै कारण नेपाली बजारमा सुन महँगो भएको हो ।’ अन्तर्राष्ट्रिय बजारमा बिहिबार प्रतिऔस सुन एक हजार दुई सय ३८ डलर १० सेन्टमा कारोबार भएको छ ।

 

यदि ३ महिना अघिजस्तो एक सय रुपैयाँमा एक अमेरिकी डलर आउथ्यो भने अहिले पनि ५३ हजारमा नेपालीले एक तोला सुन पाउने थिए । दसैं अघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन एक हजार दुई सय २१ डलर थियो ।

 

पछिल्ला समय ५७ हजारबाट बढ्दै प्रतितोला सुन साढे ६० हजारको हाराहारीमा पुगेको हो । अहिले सुनका लागि नेपालीले बढी मूल्य तिर्नुपरेको प्रमुख कारण भने अमेरिकी सेयर बजार र डलर दुवैको कमजोर हुँदा पनि नेपाली बजारमा भने ६ वर्षयताकै सुन महँगो भएको हो । भारु कमजोर भएसम्म नेपाली उपभोक्ताले यसरी नै महँगीको मार खेप्नुपर्ने महासंघले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस्