संक्रमितको निःशुल्क उपचार : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। गत आइतबार केन्द्र सरकारले कोरोना संक्रमितको उपचार खर्च स्वयं विरामीले नै व्यहोर्नुपर्ने व्यवस्था लागू गरेपछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमितको उपचार खर्च उठाउन प्रदेश सरकारले निरन्तरता दिने बताए । उनले भने, ‘प्रदेश सरकारले शुरुवातबाटै कोभिड अस्पताल र आइसोलेसन चलाउँदै आएको छ। अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिन पनि सो सुविधा निरन्तर रहने छ ।’ उनले कोरोना संक्रमितको उपचारमा कुनै कमी आउन नदिइने बताए ।

प्रदेशमा केन्द्र सरकारले कोरोना संक्रमितको उपचारका लागि सहयोग उपलब्ध नगराएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले आगामी दिनमा पनि प्रदेशले सबै खालका सहयोग गर्ने जिकिर गरे । केन्द्र सरकारले खर्च नदिए पनि प्रदेश सरकारले सहयोगलाई निरन्तरता दिन कुनै कसर बाँकी नराख्ने उनले जानकारी दिए ।

प्रत्येक नागरिकको स्वास्थ्य उपचार पाउने मौलिक हक रहेकोले केन्द्र सरकारको निर्णय संविधानविपरीत रहेको भन्दै पीसीआर परिक्षण पनि प्रदेश २ भित्र निःशुल्क रुपमा गरिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्