
एजेन्सीः इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ ।
कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो । उनले ६३ बलको सामना गर्दै ११ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर पृथ्वी शाले ७ बलमा २ छक्कासहित १४ रन जोडे । कप्तान श्रेयस ऐर ६ रनमा कट बिहाइन्ड भए ।
तेस्रो विकेटका लागि धवन र ऋषभ पन्तले १ सय ५ रनको साझेदारी गरेपछि दिल्ली सहज जिततर्फ लम्केको थियो । पन्तले ३१ बलमा ४६ रन जोडे । उनले नितिश रानाको बलमा क्याच आउट भए । कोलिन इन्ग्रामले ६ बलमा १४ रन जोड्ने क्रममा १ चौका र विजयी छक्का प्रहार गरेका थिए । कोलकाताका नितिश राना, प्रशिध कृष्णा र आन्द्रे रसलले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोडेको थियो । कोलकाताका लागि ओपनर युवा ब्याट्सम्यान शुभ्मन गिलले सर्वाधिक ६५ रनको योगदान दिए । उनले ३९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर जो डेनली भने इनिङसको पहिलो बलमा नै बोल्ड भएका थिए ।
कोलकाताको मध्यक्रममा निकै राम्रो लयमा रहेका आक्रामक ब्याट्सम्यान आन्द्रे रसलले पुन: उत्कृष्ट ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्कासहित ४५ रन जोडे । रोविन उथाप्पाले ३० बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । नितिश रानाले ११, कप्तान दिनेश कार्तिकले २ तथा कार्लोस ब्रेथवेटले ६ रन जोडे ।
तल्लोक्रममा पियुष चावलाले ६ बलमा १४ रन जोड्दै नटआउट रहे ।दिल्लीका लागि सन्दीपको स्थान लिएका किमो पलले ४ ओभरमा ४६ रन खर्चेर २ विकेट हात पारे । क्रिस मोरिस र कागीसो रबाडाले पनि २-२ विकेट लिए ।