नेकपा पर्साको सपथग्रहण कार्यक्रममा झडप : एकको मृत्यु




पर्सा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साको बिन्दबासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई गुटबिच भएको हिंसक झडपमा गम्भीर घाइते भएका नेकपाकै एक जना कार्यकर्ताको उपचारको क्रममा आज मृत्यु भएको छ ।

हिंसक झडपमा परी गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको उपचारको क्रममा वीरगन्ज स्थित न्यूरो अस्पतालमा मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता एवं डिएसपी मनोजित कुँवरले बताए ।

बिहीबार अपराह्न १ बजे विन्दवासिनी गाउँपालिका ५ प्रसौनाीभाठामा नेकपा गाउँपालिका कमिटीले आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा हिंसक झडपमा परी चौरसिया गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका चौरसियालाई तत्काल उद्धार गरी उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

No description available.

तर उनको अवस्था चिन्ताजनक रहेकोले थप उपचारको लागि बिहीबार बेलुका नै वीरगन्जको पानीटंकी स्थित एल.एस न्यूरो एन्ड जेनरल अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज बिहान नौ बजे मृत्यु भएको डिएसपी कुँवरले पुष्टि गरेका छन् । मृतकको शव अहिले पनि अस्पतालमै राखिएको छ ।

मृतकका आफन्त र पार्टीकै नेता कार्यकर्ता सयौँको सङ्ख्यामा अस्पतालमा भेला भएका छन् । अस्पताल अगाडी प्रहरी समेत परिचालन गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा नेकपाकै स्थानीय नेता हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई प्रहरीले पक्राउ गरी सकेको छ । अन्यको खोजी कार्य गरिरहेको छ ।

डिएसपी कुँवर अनुसार, हनिफ मियाँ गद्दीलाई पूर्व सांसद राजकुमार गुप्ताको घरमा बसी रहेको अवस्थामा पक्राउ गरिएको थियो भने, सोकदिन र देवालाई गाउँपालिकाबाट नै पक्राउ गरी थप अनुसन्धान गर्ने र अन्यको खोजी कार्य भइरहेकोले छ ।

No description available.

अर्को गुटका दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल उनीहरूको अवस्था सामान्य रहेको छ । उत्तम तिवारी, उनका भाइ चिन्टु तिवारी र हनिफ मियाँ गद्दीको समूहकाले नै चौरसियाको टाउकोमा भाटाले प्रहार गर्दा मृत्यु भएको उनका भाइ जयराम चौरसियाले आरोप लगाए ।

उनले भने, शपथ ग्रहण कार्यक्रम चलिरहेको बेला उनीहरू एक्कासि कार्यक्रम स्थलमा पुगेर विवाद गर्दै कुटपिट गरेका हुन । मृतक चौरसीया तत्कालीन नेकपा माओवादीका नेता मातृका यादव गुटका हुन् ।

No description available.

बिहीबारको शपथ ग्रहण कार्यक्रममा नेकपाकै अर्को गुटले आफूहरूलाई कार्यक्रममा सहभागी हुन नदिएको भन्दै कार्यक्रम स्थलमै विवाद गरेपछि दुवै पक्षबिच लाठी हानाहान भएको थियो । झडपपछि घटनास्थलमा प्रहरी परिचालन गरी शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको थियो ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले बिहीबार बेलुकी पूर्व सांसद एवं नेकपाका नेता राजकुमार गुप्तासहित ७ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो । तर तीमध्ये गुप्तासहित ४ जनालाई भने ३ घण्टाको सोधपुछ पछि प्रहरीले बिहीबार राति नै छाडिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्