अलैंचीले बजार नपाउँदा किसान निराश, मूल्य घट्दा थन्कियो



बाग्लुङ : थोरै लगानी र मेहनतमा धेरै आम्दानी गर्ने उद्देश्यले अलैंची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यतिबेला निराश भएका छन् । अलैंचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेर समेत अलैंची लगाएका थिए ।

बागलुङमा बाँझो भएर खेर गएको र भिरालो जमीनबाट अलैंची खेतीको विस्तार गरेका कृषकले शुरुमा भने जस्तो मूल्य पाउँदा खेतीयोग्य जमीनमा समेत अलैंची खेती विस्तार भइरहेको छ । अहिले अधिकांश किसानले गत वर्ष उत्पादित अलैंची समेत बिक्री नहुँदा गोदाममै राखेका छन् ।

७ वर्षअघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो ४ रोपनी जग्गामा अलैंची खेती विस्तार गर्दा सुकेको अलैंची प्रतिकिलो २ हजार ५०० रुपैयाँमा घरबाटै बिक्री भइरहेको थियो । अलैंचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी २० रोपनी पुर्‍याएका छन् । अहिले भने उत्पादन भएका समयमा अलैंचीको मूल्य नपाउँदा रोका मात्रै हैन, अधिकांश किसान चिन्तित छन् ।

रोकाले पोहोर उत्पादन गरेको २ क्विन्टल सुकेको अलैंची समेत गोदाममै छ । पोहोर अत्यधिक हिउँ परेका कारण अलैंची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ ।

अहिले पोहोरभन्दा ७५ प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोकालाई छ । उनले पोहोर र अहिले गरेर ७ क्विन्टल अलैंची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताए । उनका अनुसार प्रतिकिलो ६०० रुपैयाँमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ।

ताराखोला–२ अर्गलका करीब ४० कृषक अहिले अलैंची टिप्न व्यस्त छन् । गत वर्षका तुलनामा अलैंची उत्पादन ७५ प्रतिशतले वृद्धि भए पछि कृषकलाई उत्पादन गर्न भ्याइनभ्याई छ । गत वर्ष अलैंची समेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरूको मनमा चिसो पसिरहेकै छ ।

‘शुरूमा २ हजार ५०० रुपैयाँमा ताराखोलाबाटै बिक्री भएको अलैंची अहिले प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुनसमेत समस्या छ,’ कृषक रोकाले भने, ‘पोहोरको डेढ क्विन्टल अलैंची गोदाममा थन्किएको छ, अहिलेको बिक्री हुन के गर्ने हो ?’ रासस

प्रतिक्रिया दिनुहोस्