जानकी मेडिकल कलेजको ताला प्रहरीले तोड्यो



जनकपुरधाम : पटक पटक विवादित बन्दै आएको धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीले लगाएको ताला व्यवस्थापन पक्षले प्रहरीको सहयोगमा तोडेको छ । यसअघि कर्मचारीहरुसँग विगतमा गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत कर्मचारीहरुले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प गरेका थिए ।

कर्मचारीहरुको निरन्तरको आन्दोलनका कारण मेडिकल कलेजको आकस्मिक बाहेकका सबै सेवा विगत एक महिनादेखि ठप्प भएको थियो । कर्मचारीहरुले कलेज प्रशासनविरुद्ध धर्ना बसेपछि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको कर्मचारी हकहित संरक्षण संघर्ष समितका संयोजक उमेश यादवले जानकारी दिए ।

कलेज प्रशासनले विगतमा गरेका सम्झौताहरु अझै कार्यान्वयन नगरेको भन्दै कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा असोज १२ गतेदेखि नै ठप्प गरेका थिए । कलेजले विगत छ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दशैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका मागहरु राख्दै उनीहरु धर्नामा बसेका थिए ।

भदौ १५ गते उनीहरुले कलेजको शैक्षिक प्रशासनमा तालाबन्दीसमेत गरेका थिए । भदौ २६ गते मेडिकल प्रशासनका बरिष्ठ अधिकृत दयानन्द झाले कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि ३१ गते दुवै पक्षबीच छलफल भई तीन बुँदे सहमति भएको थियो । सहमतिअनुसार असोज १ गतेदेखि कलेजको ताला खोली सेवा सुचारु गर्ने, असोज ४ गते हरहिसाब गर्ने र असोज ३० भित्र कर्मचारीको सबै समस्या समाधान गर्ने गरी कलेज प्रशासन र कर्मचारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

तर, सहमतिअनुसार कार्यान्वयन गर्नुपर्नेमा कलेज प्रशासनले हरहिसाब नै नगरी उल्टै असोज ११ गते संघर्ष समितिका संयोजक यादवलाई पूर्वाग्रही तरिकाले स्पष्टीकरण सोधेपछि १२ गतेदेखि जानकी मेडिकल कलेज शिक्षण अस्पताल रमदैयाका ११५ जना कर्मचारी आकस्मिक बाहेकका सबै सेवा बन्द गरी निरन्तर धर्नामा बस्दै आएका थिए ।

दशैं अवधिभरि कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई समेत कारबाही स्वरुप निलम्बन गरेको संघर्ष समितका संयोजक यादवले बताए । संयोजक यादवले माग पूरा नहुञ्जेलसम्म आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै संघर्ष समितिका दुई कर्मचारी जानकी शरण यादव र कुलदीप साह कार्तिक १६ गतेदेखि आमरण अनसनमा बस्ने चेतावनी समेत दिए ।

यता कर्मचारीहरुको आन्दोलन बारे कलेजका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले कर्मचारीहरुको बक्यौता रकम दिने सहमति भइसकेको अवस्थामा कारबाहीमा परेका कर्मचारीहरु आन्दोलनमा रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्