फ्रान्समा दोस्रो चरणको लकडाउन



एजेन्सी : कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि फ्रान्समा दोस्रो चरणको लकडाउन शुरु भएको छ ।

लकडाउन शुरु हुनुभन्दा केही घण्टा अघि पेरिसमा भने सडकमा गाडीहरुको चाप देखियो ।

बीबीसीका अनुसार बिहीबार साँझ पेरिसको इल डे क्षेत्रमा ७०० किलोमिटरसम्म गाडीहरुको जाम रहेको थियो ।

नयाँ प्रतिबन्धहरु लगाउँदै मध्यरातबाट लकडाउन शुरु हुने भएपछि सयौंको संख्यामा मानिसहरुले शहर छाड्ने क्रममा जाम भएको थियो ।

फ्रान्स सरकारले नागरिकहरुलाई अत्यावश्यक काम र स्वास्थ्य सेवाका लागि मात्रै बाहिर निस्कन आग्रह गरेको छ भने अरु सबै गतिविधमा प्रतिबन्ध लगाएको छ ।

फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले लकडाउन गरिएपनि उद्योग र सार्वजनिक संस्था भने खुल्ला नै रहने बताएका छन् । उनले भाइरसको दोस्रो वेभ पहिलाभन्दा खतरनाक हुन सक्ने भन्दै सबैलाई घरभित्रै रहेर सहयोग गर्न आग्रह गरेका छन् ।

फ्रान्समा बिहीबारमात्रै ४७ हजारभन्दा बढी संक्रमित पहिचान भएका थिए भने २५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्