थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १४ हजार ९८९ जनाको परीक्षण हुँदा ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा २१५६ पुरुष र १३६१ महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म देशभर कोरोना संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

जसमध्ये काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या ६० हजार ७४२ पुगेको छ । जसमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ पुगेको छ ।

त्यस्तैललितपुर जिल्लामा कुल संक्रमितको संख्या ८५९९ जना रहेको छ । जसमध्ये ६१९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २३४५ रहेको छ ।

भक्तपुरमा ५६५० जना संक्रमित भएकामा ४ हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ११६५ रहेको छ ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्