जोखिममा नेपाली नागरिक



काठमाडौं : विश्वभर फैलिएको कोरोना महामारीका कारण स्वदेश फर्किएका सुदूरपश्चिमका नागरिक छाक टार्नै मुस्किल हुन थालेपछि पुनः रोजगारीको खोजीमा छिमेकी मुलुक भारत जान थालेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना महामारीबीच नेपाल आएका नागरिकलाई स्वदेशमै रोजगारी दिने दाबी गर्दै आएपनि कार्यान्वयन नभएपछि सीमा नाकामा भारत फर्कनेको लर्को लाग्न थालेको छ । त्यसोत सीमा नाकामा अवस्था कतिसम्म भयावह छ भने भारत जाने नागरिकहरुलाई व्यवस्थापन गर्न बाँकेको जमुनाह नाकामा खटिएको प्रहरीलाई सास्ति भएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इञ्चार्ज सई विष्णु गिरीका अनुसार शनिबार मात्रै एक हजार तीन सय ६० जना नेपाली भारततर्फ लागेका छन् भने शुक्रबार सात सयभन्दा बढी भारत गएका छन् ।

दशैँ नसकिँदै र तिहार आउन करिब दुई साता मात्रै बाँकी रहँदा भारत जानु उनीहरुको रहर नभएर बाध्यता भएको छ । २,४ पैसा कमाउन र परिवार पालनकै लागि मुग्लान पस्नुपर्ने उनीहरुको बाध्यता छ ।

त्यसोत खास गरी लुम्बिनी प्रदेशका पूर्वी रुकुम, दाङ, व्युठान, रोल्पा, बाँके र बर्दिया तथा कर्णाली प्रदेशका नाकगरिक जमुनाह नाका हुँदै भारत जाने गरेका छन् ।

विश्वभर फैलिएको कोरोना महामारीबाट धेरै प्रभावित हुने देश मध्ये भारत दोस्रो हो । आइतबारसम्म यहाँ कोरोना संक्रमितको संख्या ८१ लाख ७९ हजार दुई सय ५० पुगेको छ भने एक लाख २२ हजार ९९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै पाँच लाख ७२ हजार ८ सय १४ संक्रिय संक्रमित छन् ।

स्वदेशमा उचित रोजगारीको व्यवस्था नहुँदा ज्यानै जोखिममा राखेर रोजगारीका लागि भारत जान बाध्य छन् नेपाली नागरिक ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्