मुलुकका ४७ स्थानीय तहमा कोरोना संक्रमणको जोखिम उच्च



काठमाडौं : दशैँमा भएको चहलपहलले मुलुकका ४७ स्थानीय तह कोरोना संक्रमणको उच्च जोखिममा परेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले जनाएको छ ।

सीसीएमसीले गरेको एक अध्ययनमा २२ स्थानीय तह कोभिडको अत्यन्तै उच्च जोखिममा र २५ स्थानीय तह उच्च जोखिममा परेको जनाइएको छ ।

सीसीएमसीले अत्यन्तै उच्च जोखिम र उच्च जोखिममा परेका स्थानीय तहको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको छ । सिसिएमसीले मोबाइल एपका आधारमा मानिसको आवतजावतलाई ट्र्याकिङ गरेको थियो । त्यसबाट ४७ स्थानीय तह कोरोनाको जोखिममा परेको पाइएको सीसीएमसीले जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सीसीएमसीले कोरोनाको जोखिम क्षेत्रको मूल्यांकन गरी जानकारी दिएको छ । तर, ती क्षेत्रमा हाल कति संक्रमित देखिएका छन् भन्ने तथ्यांकको सूची भने बुझाएको छैन ।

स्वास्थ्य मन्त्रालयले यसअघिसम्म दुई सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई जोखिम र पाँच सयभन्दा माथि संक्रमित देखिएको क्षेत्रलाई उच्च जोखिममा राखेको थियो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर अधिकारीले मानिसहरूको आवतजावत गर्ने हिसाबले ती क्षेत्र बढी संक्रमित हुने देखिएको हो ।

अत्यन्तै उच्च जोखिममा सुनसरी, उदयपुर, धनुषा, सिन्धुली, काभ्रे, ओखलढुंगा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, बारा, पर्सा कास्कीका स्थानीय तह छन् ।

त्यस्तै झापा, मोरङ, उदयपुर, सिरहा, सिन्धुली, ओखलढुंगा, खोटाङ, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटका स्थानीय तह उच्च जोखिममा रहेको मन्त्रालयले जनाएको छ ।

त्यसोत शनिबारसम्मको तथ्यांक हेर्नेहो भने नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये एक लाख ३१ हजार दुई सय २२ जना निको भइसकेका छन् भने ९ सय ३७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयलको तथ्यांकले देखाएको छ ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्