ललितपुरका एसएसपीलाई धम्की दिने विप्लवका जिल्ला सेक्रेटरी विदुषी पक्राउ



काठमाडौं : प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेतृ पक्राउ परेकी छन् ।

ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी (विदुषी)लाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको हो । ललितपुरमा आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित अधिकारीलाई पक्राउ गरिएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

गत जेठ महिनामा ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राई नेतृत्वको टोलीले विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गरेको थियो । पक्राउ परेका बज्राचार्यको कोठाबाट प्रहरी ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद समेत गरेको थियो । त्यसपछि ललितपुर जिल्ला सेक्रेटरी विदुषीले विज्ञप्ति निकालेर एसएसपी राईलाई धरपकड नगर्न धम्की दिएकी थिइन् ।

विदुषीले विज्ञप्तिमार्फत जनताको सामान्य नागरिक भएर बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा, एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घर्ने घरपकड गर्ने तथा शारीरिक, मानसिक यातना दिने काम तुरुन्त रोक्न भनिएको थियो ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्