बोक्सीको आरोपमा छोराद्वारा कुटिएकी ९० वर्षीया आमाको मृत्यु



काठमाडौं : बोक्सीको आरोपमा आफ्नै छोराद्वारा निर्घात कुटिएकी सिराहाको कर्जन्हा नगरापािलका–३ की ९० वर्षीया सुदामादेवी साह सोनारको मृत्यु भएको छ ।

दशैँको अर्को दिन सोनारलाई आफ्नै छोराले बोक्सीको आरोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जनकपुर लगिएको थियो । तर, घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार नहुने भन्दै अस्पतालले उनलाई डिस्चार्ज गरिदिएको थियो । त्यसपछि वृद्धाको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै उनलाई उपचारका लागि सिराहा अस्पताल पु¥याए थियो । तर, अस्पताल पुर्याए लगत्तै सुदामादेवीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

आमालाई कुटपिट गर्ने कान्छो छोरा राम अवतार साहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

साहलाई मिर्चैया प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

मृतक वृद्धाको शव सिराहा अस्पतालको शवगृहमा राखिएको र आइतबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नागेन्द्र प्रसाद यादवले बताए ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्