दुई बालिका माथि सामूहित बलात्कार



टीकापुर : कैलालीमा दुई जना बालिकामाथि सामूहिक बलात्कार भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकासँग जोडिएको जानकी गाउँपालिका–५ अमौरी गाउँमा कात्तिक ८ गते राति ९ बजे सामूहिक बलात्कारमा परेका हुन् । बलात्कृत बालिका १३ र १४ वर्षका छन् ।

अमौरी गाउँमा अष्मीका दिन डीजेसहित युवा नाचगान गरे रमाइरहेका थिए । सोही रमाइलो हेर्न बालिकाहरु पनि गएका थिए । तर, राति ९ बजे घर फर्कने क्रममा उनीहरुमाथि समूहमा रहेका युवाहरुले बलात्कार गरेको बताइएको छ ।

जानकीका चार बालिका आफ्नै गाउँको अर्को टोलमा नाचगान हेरेर फर्कंदै थिए । ९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरा हाले । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडियो । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन्  । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरेको घटना बाहिर आएको छ ।

प्रहरीले बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए ।

शारीरिक तथा मानसिक पीडामा रहेका बालिकाको उपचार भइरहेको छ परिवारको भनाइ छ ।

सामूहिक बलात्कार घटनाको कानूनी प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । घटनास्थलको मुचुल्का तयार पारिएको र आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने उनले बताए । फरार एक जनाको खोजी भइरहेको छ ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्