मोदी र ओलीले उद्घाटन गरेको धर्मशाला सञ्चालन भएन



काठमाडौं : नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महीनासम्म पनि सञ्चालन भएको छैन्। 

 

बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ १५ गते धर्मशाला उद्घाटन भएको थियो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको धर्मशाला अझैसम्म सञ्चालनमा आउन नसकेको हो। 

 

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले प्रतिवेदन दिएपछि धर्मशाला सञ्चालन हुने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए। 

 

कात्तिक ११ गते आइतबारसम्म प्रतिवेदन आइपुग्ने र त्यसलगत्तै धर्मशाला सञ्चालन हुने उनले बताए। 

 

तीनतारे होटलको सुविधा हुनेगरी बनाइएको धर्मशाला निर्माणका लागि भारत सरकारले २२ करोड सहयोग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

 

धर्मशाला निर्माणपछि नेपाल–भारतलगायत तेस्रो मुलुकका धार्मिक पर्यटकलाई पनि ‘टुर प्याकेज’ मा यात्रा गराउन सहज हुने विश्वास गरिएको छ। यसका कारण धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ। 

 

तीलगङ्गा आँखा अस्पतालको दक्षिण पश्चिम भागको १० रोपनी क्षेत्रफलमा निर्माण भएको धर्मशालामा तीन चोक, तीन तला र ५९ कोठा छन्।  चार कोठा विशिष्ट व्यक्तिका लागि बनाइएको छ। धर्मशालामा एकैपटक ४०० तीर्थयात्री बस्न सक्नेछन्। 

 

धर्मशालाको निर्माणपछि निम्न तथा निम्न मध्यम वर्गका यात्री पनि बस्न सक्ने गरी सहुलियतको व्यवस्था गरिने कोषले जनाएको छ। हाल पशुपति दर्शनमा आउने धार्मिक पर्यटकलाई धर्मशालाको व्यवस्था नहुँदा महङ्गो होटलमा बस्न बाध्य हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्