काँग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं : नेपाली काँग्रेसको पदाधिकारी बैठक आज (मंगलबार)पनि बस्दै छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस निष्कर्ष निकाल्न नसकेपनि आज पुनः बैठक बस्न लागेको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए ।

ज्ञापनपत्रमा विधान विपरितका सबै काम उल्टाउनु पर्ने माग पौडेल पक्षले राखेको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि आफूहरुको माग सम्बोधन हुनुपर्ने अडान पौडेल पक्षले राखेपछि देउवाले सोमबार पदाधिकारी, पूर्व पदाधिकारीसहितको बैठक बोलाएका थिए ।

केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बोलाइएको छ । बैठकमा पौडेल पक्षले राखेको ज्ञापनपत्रको बुँदागत छलफल हुनुको साथै आशंकाहरु मेट्ने काम भएको थियो ।

पौडेल पक्षले विधान र प्रक्रिया विपरित क्रियाशिल सदस्यताको वितरण र केन्द्रीय विभागमा भएका मनोनयन उल्टाउनु पर्ने माग राखेको छ । भातृ तथा शुभेच्छुक संस्थाका अधिवेशन हुनुपर्ने, अधिवेशन नभइ महाधिवेशनमा प्रतिनिधिको व्यवस्था गर्न नहुने लगायतका माग समेत पौडेल पक्षले उठाएको छ ।

सोमबार पौडेल, उपसभापति विमेन्द्र निधि, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य महेश आचार्यले धारणा राखेका थिए ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्