सांसद सूर्यबहादुर केसीको निधन



काठमाडौं : सांसद सूर्यबहादुर केसीको निधन भएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीको पोखरास्थित निवासमै निधन भएको हो ।

मधुमेह र उच्च रक्तचापको समस्या रहेका उनको मुस्ताङचोकस्थित घरमै ६३ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका केसी निर्वाचनको मुखमै काँग्रेस प्रवेश गरेका थिए ।

काँग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्य बनेका केसी पहिलो संविधान सभाको निर्वाचनमा पनि राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

उनी प्रतिष्ठित उद्योगी समेत हुन् । दक्षिण एसियामा चाउचाउ उत्पादन सुरु गरेको श्रेय उनैलाई जान्छ । हिमश्री फुड्स प्रालि स्थापना गरेर उनले दक्षिण एसियामै पहिलोपल्ट पोखरामा ‘रारा’ चाउचाउ उत्पादन सुरु गरेका थिए । निर्माण व्यवसायबाट व्यावसायिक जीवनमा हात हालेका उनले बैंकिङ, रियल स्टेट, जलविद्युत, खाद्य क्षेत्रमा ठूलो लगानी गरेका थिए ।

सांसद केसीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओली ट्वीटरमार्फ दुःख व्यक्त गरेका हुन् ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्