ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार जाने सम्भावना



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गनै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बालुवाटार जाने सम्भावना रहेको छ ।

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन औपचारिक आग्रह गर्न मंगलबार प्रचण्ड बालुवाटार जाने तयारी गरेका हुन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार ओलीबाटै बैठक आह्वान हुन्छ कि भनेर कुरेको तर बालुवाटारबाट कुनै सूचना नआएकाले मंगलबार प्रचण्ड आफै बैठकको प्रस्ताव गर्न जाने सम्भावना भएको बताए ।

आइतबार प्रचण्डको नेतृत्वमा खुमलटार भेलाले ओलीसँग सचिवालय बैठक माग गर्न प्रचण्डलाई दबाब दिएको थियो । भेलामा प्रचण्डले ओलीले बैठक नडाक्ने, बहुमतलाई नमान्ने बरु अलग–अलग बस्न चाहेको भन्दै बिफिङ गरेका थिए ।

पछिल्लो समय राजदूत नियुक्ति, कर्णाली विवाद, मन्त्रीपरिषद् हेरफेर, भारतीय जासुसी संस्थाप्रमुखसँग भेटवार्तालगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएको हो ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्