अस्पतालले अस्वीकार गरेपछि संक्रमितले गरिन् आत्महत्या



विराटनगर : अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका-१० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्। 

मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। 

गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन्। अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो। परिवारका अनुसार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गराउन पैसा लाग्ने अस्पतालले बतायो। 

पैसा तिर्न नसक्दा अस्पतालले उपचार गर्न नमानेपछि उनलाई कात्तिक ९ गते घर लगिएको परिवारले जनाएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी महिलाले भोलिपल्ट अर्थात कात्तिक १० गते झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष टंक ढकालले जानकारी दिए। घटना भएको दिन दसैंको टीका थियो। 

उनका अनुसार विराटनगरमा अस्पतालले उपचार गर्न नमानेपछि घर ल्याइएकी महिलाले घर नजिकैको गोठमा पासो लगाएर आत्महत्या गरेकी हुन्। सबैतिर दसैंको टीकाको रमझम हुँदा गाउँमा भने संक्रमित महिलाले आत्यमहत्या गरेको खवर सुन्नु परेको उनको भनाइ छ। 

‘कोरोना पुष्टि भएपछि उपचारका लागि पैसा डिपोजिट गर्नुपर्छ भनेर अस्पतालले भनेछ। आर्थिक अवस्था एकदम कमजोर रहेकी महिलाको परिवारले खर्च बेहोर्नसक्ने अवस्थै थिएन,’ उनले भने, ‘पैसा तिर्न नसकेपछि श्रीमानले घर फर्काएर ल्याएछन्। घर पुगेपछि आत्महत्या गरेको पाइयो।’ 

परिवारका अनुसार महिलाको उपचारमा दैनिक १८ हजार लाग्ने र अग्रिम भुक्तानी गर्नुपर्ने अस्पतालले बताएको थियो। तर उनको परिवार उपचार खर्च तिर्नसक्ने अवस्था थिएन। ‘घर फर्काएर ल्याएको २४ घण्टा बित्न नपाउँदै श्रीमतीलाई झुन्डिएको अवस्थामा देख्नु पर्‍यो,’ मृतकका श्रीमानले भने, ‘उपचारका लागि लैजाने उपायको खोजी हुँदै गर्दा उनले मृत्युको बाटो रोजेपछि झन् तनावमा छौं।’

कात्तिक ९ गते डायलासिस सकिएको केही बेरमै पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि अस्पतालले घर पठाइदिएको उनको गुनासो छ। 

‘उपचार गराउन पाइन्छ कि भनेर कोसिस गरिए पनि सम्भव भएन,’ उनले भने, ‘संक्रमितको उपचार गर्न सकिँदैन भनेर सरकारले नै हात उठाइसकेका कारण हामी जस्ता गरिबले त्यत्तिकै मर्नुपर्ने अवस्था आएछ।’ उनले दसैंको टीकाको दिन बिहानभर गफगाफ गरेर बसेकी श्रीमतीले दिउँसो आत्महत्याको बाटो रोजेको बताए। 

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काले घटनाको अनुसन्धान भइरहेको बताए। ‘घरमै ल्याएर होम आइसोलेसनमा राखिएकी संक्रमितले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने, ‘बाँकी कुरा थप अनुसन्धानपछि खुल्दै जानेछ।’ 

मृतक कोरोना संक्रमित भएका कारण आवश्यक कानुनी प्रक्रिया पूरा गरिए पनि शवको पोस्टमार्टम भने नगरिएको जानकारी खड्काले दिए। 

अस्पतालका प्रबन्धक नारायण दाहालले संक्रमितलाई उपचार गरेर मात्रै घर पठाउने गरिएको बताए। ‘पैसा नभएका कारण अस्पतालले घर पठाएको होइन। परिवारकै सदस्यले लिएर गएका हुन्,’ उनले भने, ‘अस्पतालले पठायोभन्ने आरोप गलत हो। नोबेलले पैसा नभएकाको पनि निःशुल्क उपचार गरिरहेको छ।’ 

दाहालले पैसा नहुने र आर्थिक अवस्था कमजोर भएका संक्रमितले पनि नोबेलमा उपचार पाइरहेको बताए।  अन्नपूर्ण पोष्ट दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।

प्रकाशित : कात्तिक १९, २०७७


  

प्रतिक्रिया दिनुहोस्