ओली–प्रचण्डबीच आज छलफलको तयारी



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज छलफलको तयारी रहेको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष र अर्का कार्यकारी अध्यक्ष प्रचण्डबीच तीन दिनदेखि भेटघाट हुन सकेको छैन । शनिबार ११ दिनपछि भएको भेटमा दुई अध्यक्षबीच विवाद बढेपछि पछिल्लो तीन दिनदेखि भेट हुन सकेको थिएन ।

दुई अध्यक्षबीच मंगलबार भएको टेलिफोन सम्वादमा प्रधानमन्त्री ओलीले पहिला दुई अध्यक्ष सहमति गर्ने अनि मात्र पार्टी कमिटीको बैठक बोलाउन प्रस्ताव गरे पनि प्रचण्डले अस्वीकार गरेको उनी निकट एक नेताले बताएका छन् ।

यसअघि आइतबार पनि अध्यक्षद्वयबीच टेलिफोन वार्ता भएको थियो । तर, उक्त वार्ता सकारात्मक हुन सकेको थिएन ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले पार्टी अलग बनाएर जान भनेपछि प्रचण्डले आइतबार आफूसहित ६ जना सचिवालय सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका थिए ।छ

लफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । छलफलमा सचिवालय बैठकका लागि पहल गर्ने सहमति भएको थियो ।

सोमबार र मंगलबार दुवै पक्षले आआफ्ना तरिकाले छलफलहरू गरेका छन् । आज दुई अध्यक्षबीच छलफल हुने भनिए पनि समय तय भइसकेको छैन ।

पछिल्लो समय कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, मन्त्री परिषद् हेरफेर, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग प्रधानमन्त्रीले गरेको गोप्य भेट लगायत कारण नेकपाका दुई अध्यक्षबीच दूरी बढेको छ ।

प्रकाशित : कात्तिक १९, २०७७

प्रतिक्रिया दिनुहोस्