सचिवायल बैठक बोलाउन ओलीद्वारा अस्वीकार



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेका छन् ।

शनिबार नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यका पाँचले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई पत्र बुझाएका थिए ।

उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।

तर, पत्र बुझाउन गएका सचिवालयका सदस्य र ओलीबीच तिक्तातापूर्ण सम्वाद भएको थियो । ओलीले गुटबन्दी भएको र आफूले बैठक बोलाउन नसक्ने जवाफ दिएको सचिवालयका एक सदस्यले बताए ।

पत्र बुझाउनुअघि सचिवालयका पाँच नेताले पार्टी मुख्यालय धुम्वाराहीमा छलफलसमेत गरेका थिए ।

यो पनि

लिखित पत्र बोकेर बालुवाटार पुगे प्रचण्डसहित पाँच शीर्ष नेता

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्