चौतारामा मेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने



काठमाडौं : ‘प्रथम तोप–२१ चौतारा साँगाचोकगढी मेयरकप ब्याडमिन्टन प्रतियोगिता’  आयोजना हुने भएको छ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा मंसिर २१ गतेबाट प्रतियोगिता सुरु हुने जनाएको छ ।

आयोजक तोप–२१, चौताराले पहिलो पटक जिल्ला सदरमुकाम चौतारामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो । जिल्ला स्तरिय प्रतियोगितामा सहभागिताका लागि खेलाडी दर्ता सुरु भैसकेको र १ हजार शुल्क सहित मंसिर १५ गतेसम्म खेलाडी दर्ता समय सिमा तोकिएको जनाइएको छ।

प्रतियोगिताको राष्ट्रिय स्तरीय मेन्स सिंगल विजेताले १ लाख ११ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनल पुग्ने दुई खेलाडीले ५ हजारका दरले नगद प्राप्त गर्ने छन् ।

प्रतियोगिताको जिल्ला स्तरिय मेन्स डबल विजेताले नगद ४० हजार र उपविजेताले ३० हजार प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलमा पुग्ने दुई खेलाडीले समेत ५ हजार प्राप्त गर्ने आयोजक तोप–२१ ले जनाएको छ ।

यस्तै जिल्ला स्तरीय मेन्स सिंगल विजेताले ३० हजार र उपविजेताले २० हजार प्राप्त गर्दा सेमिफाइनलमा पुग्ने दुई खेलाडीले ५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्