सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु



सल्यान : सल्यानमा शनिबार बेलुका जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु १ ज २९११ नम्बरको जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवागघारीमा दुर्घटना हुँदा चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय जीप चालक भिमबहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका–५ निवासी ६५ वर्षीय गजबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिपमा सवार अन्य पाँच जना भने सुकशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए । प्रहरी घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि सल्यान अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । (रासस)

प्रकाशित : कात्तिक २३, २०७७

प्रतिक्रिया दिनुहोस्