सामुदायिक विद्यालयमा ‘मन्टेसरी’, विद्यार्थीलाई हरियो कार्पेट



म्याग्दी : कक्षा कोठाको भुईमा हरियो जुट कार्पेट । बालबालिकाहरुलाई इच्छा अनुसारका खेलाउने सामाग्री । भित्ताहरुमा बालबालिकाका लागि पढ्न सहिजो होस भनेर विभिन्न सन्देशहरुले रङ्गाइएको छ ।

कक्षा कोठा सफा र चिटिक्क पारिएको छ । यो कुनै निजी विद्यालयको कक्षा कोठा होइन । बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयको हो । कक्षा कोठा हेर्दा निजी भन्दा कम छैन । हुनत बेनीका निजी विद्यालयहरुमा यत्तिको सुविधा नै छैन । 

बेनी सामुदायिक विद्यालयले यहि शैक्षिक सत्रबाट सञ्चालनमा ल्याएको मन्टेसरी (पुर्व प्राथमिक तह) कक्षा हो । सजावटयुक्त मन्टेसरी कक्षा निजी भन्दा कुनै कम छैन । 

बालबालिकालाई सुरु देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्धेश्यले सुरु भएको मन्टेसरीमा प्ले ग्रुप, नर्सरी, जुनियर र सिनियर कक्षा संचालन भएको प्रधानाध्यापक दिपक श्रेष्ठले बताए । उनका अनुसार दुई बर्षअघि देखी संचालनमा आएको मन्टेश्वरीमा ६० विद्यार्थी अध्ययनरत छन् । 

दुई बर्ष माथि र पाँच बर्ष मुनिका बालबालिहरु मन्टेसरीमा भर्ना हुन पाउने प्रअ श्रेष्ठले जानकारी दिए । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बृद्धि गर्न मन्टेश्वरी कक्षा संचालनमा ल्याएको उनले बताए ।

‘सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न तल्लो तहदेखी अंग्रेजी माध्यमको मन्टेसरी कक्षा संचालनमा ल्याएका हौ’ उनले भने । प्ले गु्रपमा विद्यार्थी भर्नामा सहयोग स्वरुप १ हजार रुपैयाँ शुल्क उठाए पनि अन्य कक्षा भने निशुल्क हुने प्रअ श्रेष्ठको भनाई छ । मन्टेसरीमा चार जना शिक्षकको व्यवस्था गरिएको छ । मन्टेसरीका विद्यार्थीहरुले दिवा खाजा घरबाट लिएर आउने गर्छन् ।

मन्टेसरी संचालन गर्न दुई जना शिक्षकका लागि मासिक १२ हजार रुपैयाँ खर्च आउने भएपनि तलबका लागि त्यो रकम पर्याप्त नभएको प्रअ श्रेष्ठको भनाई छ । मन्टेसरी कक्षा संचालन संगै विद्यार्थीको चाप बढ्ढै गएको प्रअ श्रेष्ठले बताए ।

माध्यमिक तहसम्म पढाई हुने विद्यालयमा कक्षा नौ सम्म अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ । शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिएको बेनी सामुदायिक माविले कम्प्युटर कक्षालाई पनि अनिबार्य बनाएको छ ।

‘बार्षिक ३३ लाख रुपैयाँ निजी शिक्षकको तलबका लागि समुदायस्तरबाट आर्थिक सहयोग जुटाउनुपर्छ,’ प्रअ श्रेष्ठले भने, ‘सरकारले माधयमिक तह सम्मको शिक्षा निशुल्क घोषणा गरे पनि शैक्षिक गुणस्तर बृद्धि गर्न प्रविधिको प्रयोग गर्नुपर्दा कुनै कुनै रुपमा अभिभावकबाट विद्यालय संचालनका लागि चन्दा उठाउन बाध्य छौं ।’ 

मन्टेश्वरी देखी कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ९ सय ६३ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्