
काठमाडौं : यू–१९ विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको चौंथो खेलमा नेपालले ओमानलाई १५० रनको फराकिलो अन्तरले पराजित गरेको छ। मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा नेपालले जितका लागि दिएको २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.१ ओभरमा अलआउट हुँदै ७९ रनमात्र बनाउन सक्यो।
ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३/१३ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । ओमानलाई सस्तैमा समेट्न नेपालका लागि पवन सर्राफले ३, प्रतिस जिसी र सूर्य तामाङले २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३.२ ओभरमा अलआउट हुँदै २२९ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७५ रनको योगदान दिए। ८१ बलको सामना गरेका पौडेलले ५ चौंका र २ छक्का प्रहार गरेका थिए। यस्तै प्रतिष जिसीले २३ बलमा ४१, भीम सार्कीले ४३ बलमा ३९, अभिषेक बस्नेतले १५ र ऋत गौतमले १० रन बनाए।
ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २–२ तथा एस मेहत र प्रथामेस कुम्लेले एक–एक विकेट लिए। ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ। दोस्रो स्थानको नेपालले ४ खेलबाट ६ अंक जोडेको छ।
नेपालले यस अघि पहिलो खेलमा सिंगापुरलाई २१७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो। नेपाल दोस्रो खेलमा भने युएईसंग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको थियो। अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसंग खेल्नेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।