प्रधानमन्त्री ओली र विघटित कार्यदलका सदस्यहरुबीच बालुवाटारमा छलफल जारी



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र विघटित कार्यदलका सदस्यहरुबीच छलफल भइरहेको छ ।

सोमबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको छलफलमा सहभागी विघटित कार्यदलका सदस्य भीम रावलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले पार्टीमा विवाद चर्किएपछि यसअघि गत असारमा उत्पन्न विवाद सुल्झाउन गठित कार्यदलका सदस्यहरुलाई सोमबार बालुवाटार बोलाएका हुन् ।

साउन ३० गते गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा भदौ २६ गतेको स्थायी कमिटि बैठकले ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार छुट्याउनुका साथै अन्य थुप्रै निर्णयहरु गरेको थियो । तर, सोही कमिटी बैठकको निर्णय कार्यान्वयलाई विवाद उत्पन्न भएपछि ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

कार्यदलमा ओलीका तर्फबाट शंकर पोखरेल र विष्णु पौडेल छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भिम रावल र सुरेन्द्र पाण्डे छन् ।

यस्तै प्रचण्डका तर्फबाट कार्यदलमा रहेका जनार्दशन शर्मा र पम्फा भुसाल भएकोमा शर्मा आइसोलेसनमा रहेको र भुसालको कार्यव्यस्तताका कारण उनी बालुवाटार गएकी छैनन् ।

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्