शंकर पोखरेलसँगको भेटपछि प्रचण्ड बालुवाटारमा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको सन्देश बोकेर मंगलबार बिहान खुमलटार पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग प्रचण्डले भेट गरेका छन् ।

प्रधानमन्त्रीको सन्देश बोकेर खुमलटार पुगेर पोखरेल फर्किएको केही घण्टामै प्रचण्डलाई प्रधानमन्त्रीले भेटका लागि बालुवाटार बोलाएका हुन् ।

प्रचण्डसँगको भेटमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर सचिवालय बैठक बोलाउने वातावरण तयार गर्न आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले पार्टी भित्रको समस्या समाधानका लागि नै सचिवालय बैठक आवश्यक बोलाउने तयारी गरेको बताए ।

यता मंगलबार बिहानै प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणाजी श्रेष्ठले छलफल गरेका छन् । प्रचण्ड निवास बाहिर भएको भेटमा सचिवालय बैठकको तयारीका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

शीर्ष तीन नेताको भेटपछि पार्टी प्रधानमन्त्री ओलीको सन्देश बोकेर पोखरेल खुमलटार पुगेका थिए ।

स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेल पछिल्लो समय प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विवादका छलफलमा सक्रिय हुँदै आएका छन् ।

यता प्रचण्ड र नेपाल समूहले आज ४ बजे औपचारिक सचिवालय बैठक बोलाएका छन् । तीन दिन कुर्दा पनि ओलीले औचिरिक बैठकका लागि सहमति नजनाएपछि प्रचण्ड–नेपाल समूहले औपचारिक बैठक बोलाएका हुन् । आज अपराह्न ४ बजे पार्टी मुख्यालयमा सचिवालय बैठकको समय निर्धारण गरिएको छ ।

यो पनि

ओलीको असहमतिका बीच प्रचण्डले बोलाए सचिवालयको बैठक

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्