कुर्सी बोकेर सिंहदरबारमा विद्यार्थी : मन्त्रीले भेटेनन्, फोटोलाई बुझाए ज्ञापनपत्र



काठमाडौँ : पोखरा विश्विद्यालयमा भएको भनिएको अनियमित भर्ना र विद्यार्थीमा परेको असरलाई लिएर विद्यार्थीहरुले सिंहदरबारको गेटैमा प्रदर्शन गरेका छन् । 

यसबारे शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउने समय नपाएपछि विद्यार्थीहरुले सिंहदरबार अगाडिको सडकमै कुर्सीसहित प्रदर्शन गरेका हुन् । 

'दुई दिनदेखि प्रयास गर्दा पनि मन्त्रीज्यूको समय मिलेन', नेविसंघका नेता मनिष सिम्खडाले भने, 'समय नदिएपछि सिंहदरबार प्रदेशद्वारमा मन्त्रीको प्रतिमा बनाएर कुर्सीमा राखी सडकमै ज्ञापन पत्र बुझाएका हौँ ।'

सरकारले निषेधित क्षेत्र तोकेको सिंहदरबार दक्षिण गेटमा प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा नेविसंघ नेता सिजर भट्ट र सरोज थापा पक्राउ परेका छन् । नेविसंघका नेताहरुले दोषी क्याम्पसमाथि कारबाही र पीडितलाई न्याय नमिलुन्जेल आन्दोलन नरोकिने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्