तिहार र छठपछि उपत्यकामा कडा लकडाउनको तयारी !



काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि चाडपर्वपछि पुनः लकडाउनको प्रस्ताव आएको छ। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीबीच बुधबार भएको छलफलमा यो प्रस्ताव आएको हो।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो भएको बैठक पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा केन्द्रित भएको थियो। 

मध्यपुर ठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठका अनुसार कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको हो।

छलफलमा तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा कुराकानी भएको छ। 

‘अहिले नै निर्णय त भएको छैन तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरेर परीक्षणको दायरा अझै फराकिलो बनाउने जस्ता विषयमा पनि छलफल भएको छ’, बैठकपछि उनले भने। 

बैठकमा त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्नुपर्ने सुझावसमेत आएका छन्। 

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्। 

पछिल्लो समय मुलुकभरीको संक्रमण तथ्याङ मध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नु पर्ने धारणा सीसीएमसीका तर्फबाट उठेको थियो। 

आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समूदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेस्क राख्नुपर्ने जस्ता विषय पनि बैठकमा उठेका छन्। 

त्यसैगरी कोरोना संक्रमितको मृत्युु दर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होमआइसोलेसन र गम्भीर बिरामीलाई मात्रै अस्पताल लैजानेलगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्ने जस्ता विषयमा पनि छलफल भएको छ। 

नेपालमा एकैदिन २६ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा कोरोनाबाट २६ जनाको मृत्यु भएको जनाएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। यो सँगै नेपालमा संक्रमितको संख्या दुई लाख २ हजार ३२९ हजार पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै  १२ सय ६१ जनामा संक्रमण देखिएको  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या दुई लाख २ हजार ३२९ पुगेको जानकारी दिए।  जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् । 

२४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ ३९३  जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ रहेका छन्।

२४ घन्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ। ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका १२ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंका ९७६ ,भक्तपुरका ८१  र ललितपुरका २०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। अन्नपूर्णपोष्ट दैनिकबाट

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्