गाउँपालिका कार्यालय रित्ताे पारेर जनप्रतिनिधि दार्जिलिङ भ्रमणमा



रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–३ की लीला गुरुङ  अपांगता भएका दुई नाति–नातिना लिएर अपांग परिचयपत्र बनाउन मंगलबार बिहान १० बजे नै गाउँपालिका कार्यालय पुगिन् । तर, ३० चैतदेखि जनप्रतिनिधि र कर्मचारीविहीन कार्यालयबाट लीलाको काम सम्भव भएन । बल्लतल्ल कार्यालय पुगेकी वृद्धा फेरि नातिनी मनकला र नाति दिवसलाई लिएर सकिनसकी  फर्किइन् ।

लीला गुरुङजस्ता सेवाग्राहीले सास्ती पाउँदा, सेवा दिनुपर्ने जनप्रतिनिधि र कर्मचारी भने दार्जिलिङमा सामूहिक फोटो सेसन गर्दै मस्ती गरिरहेका थिए । हरेक महिना ३ गते बाँडिने अपांगता परिचयपत्र यसपटक मुख्य  पदाधिकारी र कर्मचारीको अभावमा वितरण हुन सकेन । चैत मसान्तसम्म भइसक्नुपर्ने कक्षा आठको नतिजा प्रकाशन पनि रोकिएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुन, उपाध्यक्ष इन्दिरा ओली, प्रमुख प्रशासकीय अधिकृत कुमारी रिमा मल्लसहित १७ प्रतिनिधि र कर्मचारी कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको गाउँकार्यपालिका प्रवक्ता शेरबहादुर खड्काले बताए । ‘भ्रमणका विषयमा सामान्य छलफल भए पनि निर्णय भएको मलाई थाहा छैन । ३० चैत र १ वैशाख बिदाको दिन भएकाले सोमबार कार्यालय हाजिर हुने भनेर उहाँहरू निस्किनुभएको हो,’ प्रवक्ता खड्काले बताए । 

भ्रमण टोलीमा कार्यपालिका सदस्य वीरसिंह विक, सहलेखापाल कवीन्द्र पुन, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक भूपालसिंह विष्ट, सुब्बाद्वय खिमप्रकाश शाह र मिनाराम केसी, आइटी अफिसर नवीन चौधरी, इन्जिनियर मोहनकुमार ओली, सवइन्जिनियर गगनसिंह ओली छन् ।

यस्तै, सहायक महिला विकास निरीक्षक लीला शर्मा, कम्प्युटर अपरेटर रूपक पुन, वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर बुढाथोकी, वडा १ की सचिव शारदा चौधरी पुन तथा नगर प्रहरीहरू गीता खड्का र वेगमा ओली दार्जिलिङ भ्रमणमा छन् । गाउँपालिका अध्यक्ष नरबहादुर पुनसहित केही पदाधिकारीले श्रीमान्, श्रीमती र छोराछोरीलाई पनि भ्रमणमा लगेका छन् । 

याे समाचार आजकाे नयाँ पत्रिका दैनिकले वस्तृतमा छापेकाे छ।

प्रतिक्रिया दिनुहोस्