कोरोनाका कारण भारतमा थप आठ नेपालीको मृत्यु



काठमाडौँ : कोरोना भाइरसका कारणले विदेशमा थप आठ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली स‌ंघका अनुसार गत साता भारतको महाराष्ट्र र चेन्नईमा कोरोना भाइरसका कारण आठ  नेपालीको ज्यान गएको हो ।

संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना नेपालीमा कोरोना संक्रमण देखिएको संघले जनाएको छ ।

तीमध्ये अनुमानित ४१ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत छ ।

संघको स्वास्थ्य समितिका संयोजक डा‌. सञ्जीव सापकोटाका अनुसार यूके, स्पेन, अस्ट्रिया, जर्मनी, भारत, यूएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । यो साता नेपालमा मात्र २ लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये १ लाख ६८ हजार १२९ जना कोरोनामुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत छ ।

एनआरएनएको स्वास्थ्य समितिले चाडपर्वका बेला हुने ससाना भेटघाट कम गर्नसमेत आग्रह गरेको छ । (रासस)

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्