राजर्षि जनक कप : थ्री स्टार र बागमतीबीच उपाधि भिडन्त



सर्लाही : सर्लाही जारी तेस्रो राजर्षि जनक कप फुटबलको उपाधिका लागि थ्री स्टार क्लब र बागमती नगरपालीकाको टिम भिड्ने भएका छन्।

प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भुटानको पारो फुटबल क्लबलाई ३–२ गोलले पराजित गर्दै बागमती नगरपालिकाको टिम फाइनलमा प्रवेश गरेसँगै उपाधिका लागि थ्री स्टारलाई प्रतिद्वन्द्वी पाएको हो।

थ्री स्टारले मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एपिएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। सन्तोष स्मृति खेल मैदानमा सम्पन्न खेलमा बागमतीका लागि विजय घलान र एकेने क्रिस्टिएनले एक–एक गोल गर्दा पारोका अहमेद रोजर डेम्बेले एक आत्माघाति गोल उपहार दिएका थिए।

पराजित टोलीका लागि पाल्साङ्ग लामा र अहमेदले गोल फर्काए। क्वाटरफाइनलमा १० खेलाडीमा सीमित भएर पनि झापा–११ विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३–० जीत निकालेर सेमिफाइनल यात्रा तय गरेको भुटानी टोलीले आज भने फितलो प्रदर्शन गरेको थियो। खेलको ‘म्यान अफ दि म्याच’ घोषित हुँदै वागमतीका गोलकिपर अरुण तामाङ्गले नगद १० हजार हात पारे।  

बागमतीले अब उपाधिका लागि वैशाख ६ गते थ्री स्टारको सामना गर्नेछ। प्रतियोगिताको विजेताले १० लाख तथा दोस्रो हुनेले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्