नेपालमा कोरोना सङ्क्रमण दर ‘झन् चिन्ताजनक’ तहमा पुगेको हो ?



काठमाडौं : नेपालमा बुधवार ६,७३१ व्यक्तिमा परीक्षण गर्दा १,४४२ जनामा कोरोनाभाइरस सङ्क्रमण देखियो जुन सङ्ख्या परीक्षण गरिएका मानिसको २१ प्रतिशत हुन आउँछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क हेर्दा विगत १५ दिनमा औसतमा दैनिक परीक्षण गरिएका व्यक्तिमध्ये झन्डै २३ प्रतिशतमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ ।

दशैँयता दैनिक गरिने परीक्षणको सङ्ख्या भने त्यसअघिको भन्दा कम हुने गरेको मन्त्रालयकै तथ्याङ्कले देखाउँछ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार गत कात्तिक महिनामा कोभिड-१९ सँग सम्बन्धित कारणले दैनिक सरदर १७ जनाको मृत्यु भएको थियो ।

सङ्क्रामक रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद्‌हरूले पछिल्लो समय परीक्षण गरिएको सङ्ख्याको अनुपातमा पुष्टि हुने गरेको सङ्क्रमण दरलाई लिएर चिन्ता व्यक्त गर्दै आएका छन् । किन ?

सङ्क्रमण दरले के सङ्केत गर्छ?

स्वास्थ्य अधिकारीहरू नै नेपालमा पछिल्लो समय देखिएको सङ्क्रमण दर ‘झन् चिन्ताजनक’ तहमा पुगेको स्वीकार्छन् ।

“हुन त पछिल्लो समय कम परीक्षण भइरहेको छ। तर परीक्षण कम भए पनि सङ्क्रमण दर २० प्रतिशतसम्म देखिनु चिन्ताको विषय हो,”बीबीसीसँग कुरा गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, “सोही अनुरूप काठमाडौंजस्तो बाक्लो जनघनत्व भएको ठाउँमा प्रभावकारी कदम चालिएन भने स्थिति झन् गम्भीर हुन सक्छ ।”

त्यो भनेको सङ्क्रमण दर अझ बढ्न सक्ने र विद्यमान स्वास्थ्य प्रणालीले सङ्क्रमितहरूलाई धान्न कठिन हुने विज्ञहरूको आकलन छ ।

तर कतिपय पीडितले आफ्नै पहलमा परीक्षण गराई होम आइसोलेशन बसिरहँदा समेत आफूहरूको अवस्थाबारे सम्बन्धित निकायले कुनै सोधखोज नगर्ने गरेको गुनासो गर्दै आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी त्यस्तो गुनासोप्रति धेरै हदसम्म सहमत देखिन्छन् । सङ्क्रमण दर चिन्ता गर्नुपर्ने तहमा पुगेको उनी पनि बताउँछन् ।

“अर्ली डिटेक्शन एन्ड ट्रीट्मेन्ट’ अर्थात् सरुवा रोगका बिरामीलाई जतिसक्दो चाँडो पहिचान गर्न सकिन्छ त्यति चाँडै त्यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर भनिन्छ। तर त्यो दिशामा काम देखिँदैन,” उनले थपे ।

“तपाईँले संस्थागत रूपमा कुनै काम नै नगरीकन नियन्त्रण गर्छु भन्दैमा यो रोग नियन्त्रण हुनेवाला छैन ।”

पछिल्लो अवस्था के छ ?

मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा बुधवार अपराह्णसम्म १,२५९ जनाको कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु भएको छ ।

मङ्सिर ३ गतेसम्म नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको कुल सङ्ख्या दुई लाख १३ हजारको हाराहारी पुगेको छ ।

यो मितिसम्म सङ्क्रमित भई निको हुने मानिसको सङ्ख्या चाहिँ १,८२,७८० रहेको छ जुन कुल सङ्क्रमितको झन्डै ८६ प्रतिशत हो ।

कुल सङ्क्रमित व्यक्तिमध्ये २८,८७८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्