‘ट्रम्पले विश्वलाई डरलाग्दो सन्देश प्रवाह गरिरहेका छन्’



अमेरिका : अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले डोनल्ड ट्रम्पद्वारा चुनाव हारेको स्वीकार नगर्नुलाई निन्दा गर्दै यसले “एउटा देशका रूपमा एकदमै भयानक सन्देश प्रवाह गरेको” बताएका छन् ।

उनले ट्रम्पलाई अमेरिकी इतिहासकै सबैभन्दा गैरजिम्मेवार राष्ट्रपति भएको आरोप लगाए । बाइडनले महामारीका बेला एकजुट हुन अमेरिकीहरूलाई आह्वान पनि गरेका छन् ।

बाइडनले ट्रम्पलाई आफू चुनाव जित्दिन भन्ने थाहा भएको र उनले आश्चर्यजनक रुपमा गैरजिम्मेवारी देखाएको बताएका छन् ।

कोरोनाभाइरस सङ्कटबारे डेमोक्र्याट र रिपब्लिकन दुवै पार्टीका गभर्नरहरूसँग भएको एउटा भर्चुअल बैठकपछि बोल्दै बाइडनले यस्तो बताएका हुन् ।

उनले बीबीसीसँग भने, “राष्ट्रपतिले लोकतन्त्रले कसरी काम गर्छ भन्नेबारे बाँकी विश्वमा अविश्वसनीय रूपमा हानिकारक सन्देश पठाइरहेका छन् । र, उनलाई अमेरिकी इतिहासको सबैभन्दा गैरजिम्मेवार राष्ट्रपतिका रूपमा सम्झिइनेछ ।”

ट्रम्पले अहिलेसम्म हार स्वीकारेका छैनन् र विभिन्न राज्यमा मतपरिणामविरुद्ध मुद्दा हालेका छन् । उनले आफ्नो रणनीति परिवर्तन गर्न अहिले ह्वाइट हाउसमा राज्यका विधायकहरूलाई पनि बोलाएका छन् ।

मिसिगनका रिपब्लिकन विधायकहरूलाई शुक्रवार उनलाई भेट्न भनिएको छ । तर, उनले अपनाएका हरेक प्रयासले नतिजा आफ्नो पक्षमा ल्याउन असफल भएका छन् ।

बाइडनले ट्रम्पको भन्दा बढी लोकप्रिय मत पाएका छन् भने अमेरिकी इलेक्टरल कलेज प्रणालीमा उनले ३०६ देखि २३२ इलेक्टरल कलेजमा जित्ने सङ्केत देखिएको छ ।

हरेक राज्यले आगामी केही साताभित्र सबै मतलाई प्रमाणिकरण गरिसक्ने ठानिएको छ । तर, राज्य अनुसार समयतालिका फरकफरक छ । मत प्रमाणित आइसकेपछि ट्रम्पले त्यसलाई उल्ट्याउने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्